काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषमा अरबौँको भ्रष्टाचारमा संलग्न रहेको आरोपमा लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईविरुद्ध आइतबार मुद्दा दायर गरेको छ ।
उनले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैर कानुनी सम्पत्ति आर्जन गरेको उजुरीमा उल्लेख छ । अनुसन्धानको क्रममा भट्टराईले आमाको नाममा २ रोपनी जग्गा घुस लिएको फेला परेको अख्तियारको विज्ञप्तिमा छ ।
मालपोत कार्यालय भक्तपुरमा भट्टराईको आमा जनकनन्दनी भट्टराईको नाममा तत्कालीन गुण्डु गाविस ३ स्थित कि. नं १३७४ र १३७५ का क्रमशः २ रोपनी ९ आना १ पैसा क्षेत्रफल भएको जग्गा खरिद गरिएको थियो । जग्गा गरिद गर्दा जग्गा विक्रेताको बैंक खातामा रकम जम्मा गरेको बैंक भौचरबाट देखिएपछि उक्त रकम के कसरी प्राप्त भएको भन्ने सम्बन्धमा आयोगले अनुसन्धान गरेको थियो ।
अनुसन्धानका क्रममा इन्जिनियर भट्टराईले उल्लेखित जग्गा खरिद गर्नका लागि लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरको बैंक खाताबाट रू ४० लाख तथा जग्गा खोजिदिने व्यक्तिको बैँक खातामा रु ४० लाख गरी जम्मा रु ८० लाख रकम जम्मा गराउन लगाएको पाइएको छ ।
भट्टराईले भने अनुसार जग्गा खोज्दिने व्यक्तिले प्राप्त गरेको रु ४० लाख मध्ये रु ३८ लाख ७ हजार २ सय जग्गा विक्रेताको बैक खातामा जम्मा गराएको र जग्गा विक्रेताले भक्तपुर गुण्डु ३ स्थित माथि उल्लेखित जग्गा बिक्री गरेको अनुसन्धानमा देखिएको अख्तियारले जनाएको छ ।
कोषमा ठेक्कापट्टाको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरसँग घुस स्वरूप माग गरेको रु ८० लाख भट्टराईले आफैँले प्रत्यक्ष रूपमा नलिई आमा जनकनन्दनी भट्टराईको नाममा जग्गा खरिद गर्दा उक्त घुस रकम प्रयोग गरेको देखिएको पनि आयोगले बताएको छ ।
भट्टराईले हरेक मन्त्रीका पालामा पैसा खुवाएर म्याद थप गर्दै लुम्बिनी विकास कोषमा हालीमुहाली गर्ने गरेको आरोप छ । प्रेमबहादुर आले पर्यटन मन्त्री हुँदा उनले अवधि सकिनु ५ महिनाअघि ५ वर्षका लागि नियुक्ति लिएका थिए ।
सुदन किराँती पर्यटन मन्त्री भएपछि उनलाई हटाएको थियो । अदालतबाट पुनर्बहाली हुन खोजे पनि भट्टराई असफल भएका थिए ।