काठमाडौँ - लामो विवाद, स्थानीयवासीको अवरोध तथा वन क्षेत्रको जग्गा प्रयोगमा देखिएको समस्यालगायत रुग्ण बनेको सोलु करिडोर प्रसारण लाइन सञ्चालनमा आएको छ। नेपालका हरेक प्रसारण लाइन निर्माणमा जस्तै साझा समस्याले सताएकामा सो प्रसारण लाइन सञ्चालनमा आएपछि सोलु करिडोरमा निर्माण भएका, निर्माणमा क्रममा रहेका तथा निर्माण सुरु गर्न लागेका जलविद्युत् आयोजनालाई राहत मिलेको छ।
नेपाल विद्युत् प्राधिकरणले ४५ प्रतिशत हर्जना तिर्नुपर्ने समस्याबाट समेत मुक्ति पाएको छ। राजनीतिक नेतृत्वको सार्थक सहयोग र कार्यान्वयन गर्ने निकायको निरन्तर प्रयासका कारण ढिलै भए पनि एउटा महत्वपूर्ण प्रसारण लाइनको निर्माण भएको छ। यसअघि कोशी करिडोर निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको थियो भने नुवाकोटको समुन्द्रटार त्रिशूली प्रसारण लाइन पनि सम्पन्न भइसकेको छ।
प्रसारण लाइन निर्माणमा ढिलाइ हुँदा ‘सुपर सिक्स’ मा रहेका केही आयोजनाका विद्युत् खेर गई प्राधिकरणले हर्जना तिर्नुपर्ने अवस्था आइलागेको थियो। सोलुखोला जलाधरा क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालन आएको प्राधिकरणले जनाएको छ।
नेपाल सरकारको लगानी र भारतीय निर्यात–आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको प्रसारण लाइनलाई आज बिहान ११.३० बजे चार्ज गरी सञ्चालनमा ल्याइएको छ। सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुङ्गा हुँदै सोलुखुम्बूको दूधकुण्ड नगरपालिकाको तिङलासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर छ। सो प्रसारण लाइनमा टावरको सङ्ख्या ३०२ छ।
सोलु करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत तिङलामा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी, आठ एमभिए क्षमताको सवस्टेशन निर्माण गरिएको छ। सवस्टेशसन निर्माण गरी ७ भदौ २०७६ देखि सञ्चालनमा छ। तिङला सवस्टेशसनबाटै सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङमा विद्युत् आपूर्ति हुने छ।