काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच पाँच महिनापछि भेटवार्ता हुँदैछ।
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन देउवा आज चितवन जाँदै छन्। असार २८ गते सर्वोच्च अदालतको परमादेशमार्फत ओली नेतृत्वको सरकार हटेपछि देउवा प्रधानमन्त्री चयन भएका थिए। ओलीले देउवा नेतृत्वको सरकारलाई जनादेशबाट नभएर अदालतको परमादेशबाट बनेको बताउँदै आएका छन्। त्यसैले पनि आजको उद्घाटन समारोहमा देउवाले राजनीतिक विषयमा बोल्लान् वा के गर्लान् भन्ने जनचासोको विषय बनिरहेको छ। देउवा प्रधानमन्त्री भए यता दुई नेताबीच भेटवार्ता भएको छैन। ओली देउवाको सपथ ग्रहणमा पनि सहभागी भएका थिएनन्। प्रमुख प्रतिपक्षी दलसँग संवादहिनताको अवस्था भएको बेला आजको उद्घाटन सत्रमा सहभागी भएरै देउवाले मिलेर जानुपर्ने सन्देश दिन खोजेको हुन सक्ने विश्लेषण गरिएको छ।
सत्ता गठबन्धनमा रहेका दलमध्ये नेकपा एकीकृत समाजवादीलाई भने एमालेले महाधिवेशनमा निम्तो नै दिएको छैन। नेकपा माओवादी केन्द्रका अध्यक्ष नआउने निश्चित देखिएको छ। जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी भने आउने तय भएको एमालेले जानकारी दिएको छ। त्यस्तै, विदेशबाट समेत नेताहरूले महाधिवेशनका अवसरमा शुभकामना दिन आउने एमालेले जनाएको छ।