काठमाडौँ - ४४ औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत ३ हजार मिटर दौडमा एपीएफ क्लबका गोपी चन्द्र पार्की र वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेका छन्।
त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको प्रतियोगितामा पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषीले स्वर्ण पदक जितेका हुन्। गोपीले निर्धारित दूरी ८ मिनेट २९ दशमलव ५ सेकेण्डमा पूरा गरेका थिए। यस्तै आर्मीका मुकेश पालले रजत र आर्मीका दीपक अधिकारीले कास्य जितेका छन्। आर्मीका पालले शुक्रवार भएको १५ सय मिटर दौडमा स्वर्ण जितेका थिए।
महिलातर्फ सन्तोषीले निर्धारित दूरी १० मिनेट ०६ दशमलव ७ सेकेण्डमा पूरा गरेकी थिइन्। पुलिसकी राजपुरा पछाइले रजत र कर्णालीकी राममाया बुढाले कास्य हात पारे। सन्तोषीले यसअघि शुक्रवार १५ सय मिटर दौडमा समेत स्वर्ण जितेकी थिइन्। प्रतियोगितामा सात वटा प्रदेश र तीन विभागीय टोली गरी टोलीका २ सय ४० खेलाडी सहभागी रहेका छन्।
प्रतियोगितामा ३१ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ। यसअघि हिजो भएको ४ सय मिटर हर्डल्स तर्फ विभागित टोली त्रिभुवन आर्मीकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। उनले ४ सय मिटर हर्डल्समा निर्धारित दूरी १ मिनेट ०७ दशमलव २ सेकेण्डमा पार गरी राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।
जयरानीले छैटौँ राष्ट्रिय खेलकुदमा एपीएफकी सविता चौधरीले बनाएको १ मिनेट ०७ दशमलव ७ सेकेन्डको कीर्तिमान भङ्ग गरेकी हुन्। नेपाल एथलेटिक्स सङ्घको आयोजनामा यो प्रतियोगिता भैरहेको छ।