विश्वकप लिग-२ः यूएईविरुद्ध अमेरिका एक विकेटले विजयी

काठमाडौँ - आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा अमेरिकाले यूएईलाई एक विकेटले हराएको छ। गएराति सम्पन्न खेलमा यूएईले दिएको २५४ रनको लक्ष्य अमेरिकाले ४९.१ ओभरमा पुरा गर्यो।

उसका लागि कप्तान मोनांक पटेलले उत्कृष्ट पारी खेले। ९८ बलको सामना गरेका उनले ७ चौका र १ छक्कासहित सर्वाधिक ८५ रन बनाएका थिए। त्यस्तै, आरोन जोन्सले ६७ बलमा ४ चौकाको सहयोगमा ५१ रन जोडेका थिए।

इयान हल्याण्डले ३०, स्टिभन टेलरले २९, गजानन्द सिंहले अविजित २६ र सुशान्त मोदानीले १२ रनको योगदान दिएका थिए। यूएईका लागि जुनैद सिद्दिकी, रोहन मुस्तफाले २/२, जाहूर खान, बसिल हमीद र कप्तान अहमद राजाले १/१ विकेट लिएका थिए।

त्यसअघि स्कटल्याण्डको एबर्डीनस्थित मनोफिल्ड पार्क मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २५३ रन बनाएको थियो। उसका लागि युवा ब्याटर आर्यन लाक्राले उत्कृष्ट पारी खेले। ११२ बलको सामना गरेका उनले ११ चौका र १ छक्कासहित ८४ रन बनाएका थिए।

त्यस्तै, वृत्य अरविन्दले ८५ बलमा ३ चौका र १ छक्काको सहयोगमा ५३ रन जोडे। चुन्दगापोयल रिजवानले ३९, बसिल हमीदले २५, जवर फरिदले १६ र जुनैद सिद्दिकीले अविजित १२ रनको योगदान दिएका थिए।

अमेरिकाका लागि सौरभ नेत्रावल्करले सर्वाधिक ३ विकेट लिएका थिए। यूएई २४ खेलबाट २६ अंक बनाउदै तेस्रो स्थानमा रहेको छ। २५ खेलमा २५ अंक बनाएको अमेरिका चौथो स्थानमा रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×