जग्गा बेचेर श्रीमान फरार, श्रीमती दुई महिनादेखि वनको झोपडीमा

कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित वसन्त सामुदायिक वन क्षेत्रमा दुई महिनादेखि २८ वर्षीया उमा चौधरी झोपडी बनाएर बस्दै आएकी छन् । सालको पातको झोपडी बनाई चौधरी वन क्षेत्रमा एक्लै बस्दै आएकी हुन्।

बेलौरी नगरपालिकाको कुण्डा घर भएकी चौधरीलाई श्रीमान् रामबहादुर चौधरीले कुटपिट गरी बालबालिका लगेर अलपत्र पारेपछि दुई महिनादेखि वन क्षेत्रमा झोपडी बनाएर बस्दै आएको उनले बताइन्। “श्रीमान्ले सधैँ कुटपिट गर्थे”, चौधरीले भनिन्, “माइतीमा गएका बेला जग्गा बेचेर एक छोरा र दुई छोरी लिएर श्रीमान् बेपत्ता भएपछि वन क्षेत्रमा आएर बस्दै छु, सहारा कोही छैन।” वन क्षेत्रमा रुखमुनि बस्दै गरेको देखेपछि स्थानीयवासीको सहायतामा कलुवापुर बजार नजिकैको वनमा स्थानीयले झोपडी बनाइदिएका हुन् । चौधरीले नजिकैको गाउँबाट खाना मागेर खाँदै आएकी छन्।

लगाउने, ओढ्ने कपडासमेत मागेर गुजारा चलाउने गरेको चौधरीले बताइन्। कृष्णपुर नगरपालिका–२ मा रहेका माइतीले समेत नहेरेपछि बाध्य भएर वन क्षेत्रमा बस्नुपरेको उनको दुःखेसो छ। वडाध्यक्ष दिलबहादुर बुढा एक्लै महिला वन क्षेत्रमा तुषारोसमेत नछेक्ने झोपडीमा बस्दै गरेको देखेपछि वनछेउकै मन्दिरमा साधु बस्ने कुटीको बरण्डामा बस्ने व्यवस्था मिलाइएको बताउँछन्। “महिलालाई उद्दार गरी सहजरूपमा बसोबासको व्यवस्था मिलाउनका लागि परोपकारी संस्थाको खोजीमा लागेका छौँ”, उनले भने।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×