स्वास्थ्य बीमाको भुक्तानी व्यवस्था सरल हुनुपर्छ: प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तानी व्यवस्थालाई सरल बनाउन सुझाव दिएका छन् ।

आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्नेमा जोड दिए ।

‘अनलाइन सदस्यता दर्ताको व्यवस्था, सही समयमा दाबी गर्ने प्रणाली, प्रविधिमैत्री बीमा प्रणाली जस्ता व्यवस्था र प्रावधानहरू चुनौतीलक्षित सुधारका योजनाहरू हुन्’ उनले भने, ‘स्वास्थ्य सेवालाई समतामूलक ढङ्गले स्वास्थ्य बीमामार्फत उपलब्ध गराई ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न कार्यक्रमलाई सार्थक र प्रभावकारी बनाउनैपर्दछ । यसका लागि सरकार सधैँ प्रतिबद्ध छ ।’

यस कार्यक्रममा आकर्षण बढाउन राज्य र सेवाप्रदायक निकायबाट लिनुपर्ने महत्त्वपूर्ण कार्यभारलाई पूरा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले बीमितले सेवा लिने प्रक्रिया सरल बनाउने, सेवाको गुणस्तर कायम गर्ने, सेवाप्रदायक संस्थाहरूलाई अझ सेवामैत्री बनाउनेलगायतका विषयमा ध्यान निर्देशन दिए । उनले सुशासन तथा वित्तीय अनुशासन कायम राख्ने र स्वास्थ्य बीमा कार्यक्रमबारे प्रभावकारी साक्षरता अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

नेपाल सरकारले उच्च प्राथमिकतामा राखी सबै स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने एवं सङ्घीय, प्रदेश र स्थानीय सरकारबाट प्रदान गरिने सेवा तथा सिफारिसमा स्वास्थ्य बीमा कार्ड अनिवार्य गर्नेजस्ता महत्त्वपूर्ण नीतिगत सुधारहरूबाट स्वास्थ्य बीमा कार्यक्रमकोे मात्रा र गुणस्तरमा विकास हुने अपेक्षा गरिएको उनले बताए ।

बीमा रकमलाई बढोत्तरी गरी स्वास्थ्य कार्यक्रममा आकर्षण एवं प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रमका रूपमा विकास गर्न सकिने बताए । स्वास्थ्य बीमा कार्यक्रमको सम्भावनालाई दृष्टिगत गर्दै आवश्यक अध्ययनका आधारमा यथोचित निष्कर्षमा पुगिने उनले स्पष्ट पारे ।

लोककल्याणकारी राजयको अवधारणा अनुरुप नागरिकको स्वास्थ्यप्रति प्रतिबद्ध रही ‘तपाईंको स्वास्थ्य हाम्रो अठोट’ भन्ने मूल नाराका साथ २०७२ चैत २५ गतेदेखि कैलाली जिल्लाबाट सुरुवात गरिएको स्वास्थ्य बीमा कार्यक्रम राज्यको प्राथमिकता प्राप्त सहभागितामूलक कार्यक्रम हो । कार्यक्रमको दायरा बिस्तार गरी यसलाई सार्थक र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ छ ।

सो अवसरमा प्रधानमन्त्री दाहालले बुढानिलकण्ठ नगरपालिकाका जेष्ठ नागरिकलाई बीमा प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । आजदेखि सो कार्यक्रम सात सय ५३ वटै स्थानीय तहमा शुरु भएको छ ।

कार्यक्रममा स्वाथ्य बीमा बोर्डका अध्यक्ष डा गुणराज लोहनीले बीमाको दायरालाई थप बिस्तार गरिएको जानकारी दिए । सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य प्राडा शिवराज अधिकारीले बीमा कार्यक्रमको महत्व, यसको आवश्यकता र सुधारका विभिन्न पाटा पक्षबारेमा चर्चा गर्दै कार्यक्रमलाई थप सरल बनाउनका लागि पहल गरिने बताए ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले नेपालमा उत्पादित औषधिलाई थप व्यवस्थित बनाएर बीमा कार्यक्रमलाई परिस्कृत र व्यवहारिक बनाउँदै लगिने बताए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×