काठमाडौँ - च्याम्पियन म्यानचेस्टर सिटीले वेस्ट ह्यामविरुद्धको खेलबाट इङ्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु गर्ने भएको छ। क्लब फुटबलको यस सिजनलाई फरकरूपमा लिइएको छ। कारण हो, कतार विश्वकपका कारण सिजनको बीचमा ‘ब्रेक’ हुने।
विश्वकपका लागि ब्रेक हुनुभन्दा अगाडिको साताका प्रिमियर लिगको कडा प्रतिस्पर्धा हुने ठूला क्लबका खेल राखेको छैन। विश्वकपअघि नोभेम्बर १२ र १३ मा अन्तिम खेल हुनेछ। त्यसपछि २६ डिसेम्बरसम्मका लागि विश्वकपका लागि ‘ब्रेक’ राखिएको छ।
२१ नोभेम्बरबाट कतारमा हुने विश्वकपमा इङ्ल्यान्ड र वेल्स दुवैले प्रतिस्पर्धा गर्नेछ। विश्वकपको फाइनल खेल १८ डिसेम्बरमा हुनेछ। त्यसको आठ दिनपछि प्रिमियर लिग सुरु हुनेछ। नयाँ सिजनको पहिलो खेलमा आर्सनलले क्रिस्टल प्यालेसको भ्रमण गर्नेछ। उक्त खेल ५ अगस्टमा हुनेछ। उक्त साता उपविजेता लिभरपुलले फुलह्यामविरुद्ध प्रतिस्पर्धा गर्नेछ। चेल्सी एभर्टन भ्रमणमा निस्कनेछ भने टोटनहमले घरेलु मैदानमा साउथ ह्याम्पटनविरुद्ध खेल्नेछ।
न्युक्यासल युनाइटेडले नवप्रवेशी नटिङ्घम फरेस्टविरुद्ध खेल्नेछ। लेस्टरले ब्रेन्टफोर्डसँग खेल्नेछ। भने लिड्स युनाइटेडले उल्भर ह्याम्पटनविरुद्ध प्रतिस्पर्धा गर्नेछ। एस्टन भिल्लाले बर्नमाउथको भ्रमण गर्नेछ। युनाइटेडले ब्राइटनलाई आतिथ्यता प्रदान गर्नेछ।
फुटबल संघको अनुरोधमा १२ र १३ नोभेम्बरमा ‘बिग-६’ क्लबहरूले एक-आपसमा प्रतिस्पर्धा गर्ने छैनन्। उक्त साता ब्राइटनले एस्टन भिल्लासँग, बर्नमाउथले एभर्टनसँग, फुटह्यामले म्यानचेस्टर युनाइटेडसँग, लिभरपुलले साउथ ह्याम्पटनसँग, म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डसँग, न्युक्यासलले चेल्सीसँग, नटिङघम फरेस्टले क्रिस्टल प्यालेससँग, टोटनहमले लिड्ससँग, वेस्ट ह्यामले लेस्टर सिटीसँग र उल्भर ह्याम्पटनले आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ।
विश्वकप फुटबलका लागि मिड सिजनमा करिब ६ साता ब्रेक हुने प्रिमियर लिग यस पटक अघिल्लो सिजन भन्दा एक साता अघि सुरु हुन लागेको हो। यस्तै लिगको समापन पहिला भन्दा एक साता पछि अर्थात २०२३ मे २८ मा हुनेछ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकपका लागि १४ नोभेम्बरसम्म खेलाडी रिलिज गर्नुपर्ने बताएको छ।