सुनसरी - धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज राईले आफूलाई सम्मान समाराेहमा सहभागी बन्ने रुची नभएकाे बताएका छन्। अन्य जनता तथा संघसंस्थाहरूले पनि आफ्नाे भावना र चाहनाकाे ख्याल गर्ने विश्वास व्यक्त गर्दै उनले भनेका छन्, ‘मलाई सम्मान समाराेहमा सहभागी बन्ने खास रुची छैन।’
उनले आफूले मात्रै काम गर्न चाहेकाे बताएका छन्। ‘म काम गर्न चाहन्छु,’ उनले भनेका छन्।
पदभार ग्रहण गर्दै उनले भनेका थिए, ‘म धुस्रैफुस्रै भएर पनि काम गर्छु। मलाई सुकिलाे-मुकिलाे हुनु छैन। म बस्ने हाेइन, फिल्डमा गएर काम गर्ने हाे।’
झन्डै एक दशकयता धरानका विभिन्न सामाजिक समस्याहरूबारे आवाज उठाउँदै आएका उनी यसपटककाे स्थानीय तहकाे निर्वाचनमा फराकिलाे मतान्तरका साथ जितेका छन्। स्वतन्त्ररूपमा धरानकाे मेयरमा उम्मेदवारी दिएका उनले सबैलाई पछि पार्दै फराकिलाे जित निकाल्न सफल भएका हुन्।