काठमाडौँ - स्पेनिस क्लब रियाल म्याड्रिडका पहिलो रोजाईका गोलरक्षक थिवाउट कोर्टुवाले स्पेनिस ला लिगाको ‘एल क्लासिको’ अर्थात क्याटलान क्लब बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका छन्।
यस सिजनको पहिलो क्लासिको आइतबार राति ८ बजे रियालको मैदान सान्टियागो बर्नबेउमा हुँदैछ। रियाल म्याड्रिडका प्रशिक्षक कार्लाे एन्सेलोटीले बेल्जियन गोलरक्षक कोर्टुवाले क्लासिको गुमाउने पक्का भएको जनाएको छ। चोटका कारण ३० वर्षीय कोर्टुवाले गत महिनाको अन्त्यदेखि खेलेका छैनन्। चोटका कारण उनले रियालको टोलीसँग प्रशिक्षण गरेका छैनन्। प्रशिक्षक एन्सेलोटीले क्लासिको खेल्ने समय ४८ घन्टाभन्दा बढी रहँदा नै कोर्टुवाले नखेल्ने पुष्टि गरेका छन्।
स्पेनिस पत्रिका मार्काका अनुसार कोर्टुवाको चोट अपेक्षाकृत रुपमा हुन सकेको छैन। सोही कारण पनि उनको पूनरागमनलाई हतार नगरिएको क्लबले जनाएको छ। कोर्टुवाको चोटसँगै यो सिजनको पहिलो क्लासिकोमा रियालको पोस्ट एन्ड्री लुनिनले सम्हाल्नेछन्। लुनिनले रियालको सबै पछिल्लो ४ खेलमा पोस्ट सम्हालिसकेका छन्। उनले च्याम्पियन्स लिगमा साख्तर डोनेस्कविरुद्ध २ र ला लिगामा गेटाफे र ओसासुनाविरुद्ध खेलेका छन्।
रियालले कोर्टुवाले बार्सिलोनाविरुद्ध नखेल्ने बताएपनि उनी कहिले फर्कने केही बताएको छैन। तर, पनि रियालले उनको स्थितिबारे लगातार अध्ययन गरिरहेको छ। उनी लगातार रियालको फिजियोमा व्यस्त रहेका छन्। कोर्टुवाले पछिल्लोपटक युइएफए नेसन्स लिगमा नेदरल्यान्ड्सविरुद्ध १-० ले पराजित भएको खेलमा खेलेका थिए। त्यसयता उनले रियालको ४ खेल गुमाएका छन्। उनले पछिल्लोपटक रियालका लागि मड्रिड डर्वीमा २-१ को जित निकालेको खेल खेलेका थिए।
सन् २०१८ मा रियालमा आएका कोर्टुवा त्यसपछि रियलको लगातार पहिलो रोजाईमा खेल्दै आएका छन्। उनले रियालका लागि १९० खेल खेलेका छन्।