मतदानस्थल केन्द्रित चुनावी तयारी

बागलुङ - स्थानीय तहको चुनाव गराउन कर्मचारी र सुरक्षाकर्मी यहाँका सबै मतदानस्थल पुगेका छन्। भोलि (शुक्रबार) मतदानका तयारी मतदानस्थल केन्द्रित बनेको हो। जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जिल्लाका १०३ वटै मतदानस्थलमा मतदान अधिकृतसहित कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री पुगिसेकेको जानकारी दिए। “सर्वदलीय बैठक राख्नेलगायत मतदानस्थलको व्यवस्थापकीय काम सुरु भएको छ”, उनले भने, “आज बिहीबार मतदानस्थलबाटै मतदाता शिक्षा र मतदाता परिचयपत्र वितरण पनि सँगसँगै हुन्छ।”

मतदानका लागि ‘बुथ’ निर्माणको काम आजसम्ममा भइसक्ने जनाइएको छ। यहाँका १०३ मतदानस्थलमा २३० मतदान केन्द्र छन्। एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीलगायत गरी पाँच कर्मचारी खटाइएको छ। चुनावलाई स्वच्छ र भयरहित बनाउन जिल्लाभर सुरक्षा प्रबन्ध चुस्त पारिएको छ। मतदान केन्दलाई अतिसंवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरी जिल्ला सुरक्षा समितिले सुरक्षा रणनीति तयार पारेको छ। 

विगतका घटनाको विश्लेषण, मतदाता सङ्ख्या, भौगोलिक अवस्थिति, मतदान केन्द्रको दूरी र राजनीतिक शक्ति सन्तुलनलाई हेरेर मतदान केन्द्र वर्गीकरण गरिएको हो। समितिका सदस्य एवं जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले मतदान केन्द्रको भित्री सुरक्षामा जनपद र म्यादी प्रहरी खटिने बताए। बाहिरी सुरक्षा घेरामा भने सशस्त्र प्रहरी र नेपाली सेना रहने उहाँको भनाइ थियो। 

जिल्लाभर झण्डै एक हजार म्यादी र ७०० बढी नेपाल प्रहरी सुरक्षामा खटिएका छन्। सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी आठदेखि २२ जनासम्म सुरक्षाकर्मी एउटा मतदान केन्द्रमा परिचालन गरिएको छ। 

जिल्लामा एक लाख ९३ हजार ६२५ मतदाता रहेकामा महिला ९९ हजार ७२८ र पुरुष ९३ हजार ८९७ छन्। दसवटै स्थानीय तहका ४६९ जनप्रतिनिधि छान्न यहाँका मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन्। आफूलाई मन परेको उम्मेदवारलाई मत दिन जिल्ला बाहिर रहेका मतदाता पनि गाउँ भित्रिएका छन्। पाँच वर्षपछि हुन लागेको स्थानीय तहको चुनावले यहाँको माहोल गर्माएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×