एजेन्सी। द्वन्द्वग्रस्त मुलुक इथियोपियामा ९० लाखभन्दा बढी मानिसलाई खाद्य सङ्कट पर्न सक्ने देखिएको छ।
संयुक्त राष्ट्र संघ अन्तर्गतको विश्व खाद्य कार्यक्रमले शुक्रबार दिएको जानकारी अनुसार इथियोपियाका ९० लाखभन्दा बढीलाई खाद्य अभाव हुन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने भएको छ।
इथियोपियामा खाद्य सङ्कट उत्पन्न हुने बारेमा अन्तर्राष्ट्रिय समुदायको तत्काल ध्यानाकर्षण गराउनु पर्ने राष्ट्रसंघीय अधिकारीहरूको भनाइ छ।
अफ्रिकी देशहरूमध्ये दोस्रो धेरै जनसङ्ख्या भएको द्वन्द्वग्रस्त मुलुक इथियोपियाका लागि अहिलेदेखि नै खाद्य व्यवस्थापनको तयारी नगरिए ठूलो मानवीय क्षति हुन सक्ने चेतावनी समेत उनीहरुले दिएका छन्।
इथियोपियामा सरकारी पक्ष र विद्रोही टिपीएलएफ समूहका बीचमा लामो समयदेखि द्वन्द्व चल्दै आएको छ।