वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिलाई सरकारले पुरस्कृत गर्ने

काठमाडौँ- वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले सरकारले पुरस्कृत गर्ने भएको छ। त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिसँग आवेदन आह्वान गरेको छ।

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीले आगामी फागुन १० गतेभित्र आवेदन दिनसक्ने मन्त्रालयले जनाएको छ।

कामदार भिसामा विदेश गई कम्तिमा एक वर्ष काम गरी फर्किएको, वैदेशिक रोजगारीबाट फर्केर व्यवसाय सञ्चालन गरेको न्यूनतम् एक वर्ष पूरा भएको र विगत पाँच वर्षभित्र श्रम मन्त्रालयबाट पुरस्कार प्राप्त नगरेका व्यक्तिले आवेदन गर्न सक्ने सूचनामा उल्लेख छ।

पुरस्कार आवेदन फारम श्रम मन्त्रालयको वेभसाइटमा राखिएको छ। आवेदनका साथमा नेपाली नागकिताको प्रमाणपत्र, श्रम स्वीकृति, भिसासहितको राहदानी, आयकर दर्ता प्रमाणपत्र र गत आवको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि तथा यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणा पेश गर्नुपर्नेछ।

आवेदन फाराम मन्त्रालयको रोजगार समन्वय तथा सूचना शाखामा दर्ता गराउन वा इमेल गर्न सकिने सूचनामा जनाइएको छ। प्राप्त आवेदनमध्येबाट उत्कृष्ठ उद्यमीलाई सम्मान गरिने मन्त्रालयले जनाएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×