काठमाडौँ- रेलिगेसन जोनमा रहेर ‘बी’ डिभिजनमा झर्ने सम्भावना रहेको च्यासल युथ क्लब अन्ततः रेलिगेसन भएको छ। शनिबार दशरथ रंगशालामा भएको १२औं चरणको पहिलो खेलमा रेलिगेसनबाट बच्न फ्रेन्डस् क्लब र च्यासल प्रतिस्पर्धामा उत्रेका थिए। ललितपुरका दुवै टिमलाई ‘ए’ डिभिजनमा रहिरहन जितकै आवश्यक थियो, यसमा फ्रेन्डस् बाजी मार्न सफल भयो। फ्रेन्डस्ले च्यासललाई २–१ ले हराएको थियो।
फ्रेन्डस्को १२ खेलबाट १० अंक भएको छ र रेलिगेसन टार्न सक्ने सम्भावनामा रहेको छ। तर, टिम रेलिगेसनबाट उम्किन सक्ने वा नसक्ने आगामी जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लबका आ–आफ्ना खेलको नतिजाले निष्कर्ष निकाल्नेछ। ११ खेल खेलेको जावलाखेलको १० अंक छ भने ब्रिगेड ब्वाइजको त्यति नै खेलबाट ७ अंक जोडेको छ।
फ्रेन्डस्विरुद्ध हार व्यहोरेको च्यासलको १२ खेलबाट ६ अंक छ। अन्तिम खेलमा सातदोबाटो क्लबलाई हराए पनि च्यासल रेलिगेसन नै हुने भएकोले एक खेलअगावै च्यासल रेलिगेसनमा परेको हो। २०३७ सालमा स्थापित च्यासल २०७२ सालमा ‘ए’ डिभिजनमा उक्लिएको थियो। च्यासलको ‘ए’ डिभिजन यात्रा ६ वर्ष मात्रै रह्यो।
च्यासलले खेलमा फर्कन कोशिस गरेको पनि थियो, तर सफल भएन। फ्रेन्डसका जमोल एन्थोनीले दुबै गोल गरेर च्यासललाई पहिलो हाफमै २–० ले पछि पारेका थिए। दोस्रो हाफमा च्यासलका लागि मौसा एबागानाले गोल गर्दै २–१ मा गोलअन्तर खुम्च्याएका थिए। यसपछि गोल हुन सकेन र च्यासलको ए डिभिजनको यात्रा समाप्त भयो। च्यासलको यो जारी लिगमा ८ खेलमा हार भयो भने एक खेलमा मात्रै जित प्राप्त भयो। साभार