गलेश्वरमा रामसीताको स्तम्भ

काठमाडौँ - बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिर परिसरमा  भगवान राम र सीताको स्तम्भ प्रतिस्थापना गरिएको छ।

दश जना दाताले आर्थिक संकलन गरेर गलेश्वर मन्दिर अगाडि स्थापना भएको ती स्तम्भमा नियमित नित्यपूजाका लागि थप रु. तीन लाख १५ हजारको अक्षयकोष स्थापना गरेका छन्। करिब सात फिट अग्लो स्तम्भ भित्र एक करोड २७ लाख श्रीराम मन्त्र लेखिएको कागजलाई पानीले नभिज्ने गरी बाकसमा राखिएको छ। स्तम्भका शिरमा भएको राम र सीताको मूर्तिलाई पित्तलको छाताले ओढाइएको छ। 

पोखराका लेखनाथ घिमिरे, हिमलाल बराल, टेकनाथ पौडेल, रामप्रसाद बराल, बिष्णुमाया पौडेल, तिलोचन पौडेल, कुलप्रसाद पराजुली, मायादेवी बास्तोला, धरानका कुलचन्द्र भट्टराई र लमजुङका हरेराम दासले स्तम्भमा राख्ने मन्त्र उपलब्ध गराउनुभएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ। स्तम्भको रामनवमी पर्वको अवसर पारेर आइतबार कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले शुभारम्भ गरे। “धर्मशास्त्रहरुमा राम र शिवले एक अर्काको सम्मान र सहकार्य गरेको हुनाले गलेश्वर शिवालयमा रामसीताको मुर्ति राखिएको हो,” उनले भने,  “मन्त्र सहितको रामसीताको स्तम्भले गलेश्वरमा धार्मिक शक्ति केन्द्रित गरेको छ।” 

कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको गलेश्वर मन्दिरमा शिव, पार्वति, नटराज, जडभरत, गलेश्वरबाबा, नाग, राधाकृष्ण लगायत हिन्दू धर्मावलम्बीका भगवानका मन्दिर र मूर्तिका साथै १०८ शिवलिङ्ग छन्। गलेश्वरमा महाशिवरात्री, बालाचर्तुदर्शी र साउन महिनाको सोमबारका दिन बिशेष मेला लाग्ने गर्छ। गलेश्वरधामलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थ स्थल मुक्तिनाथको प्रवेशद्वारका रुपमा चिनिन्छ। 

द्वापरयुगमा सतिदेबी गला पतन भएकाले गलेश्वर नाम रहन गएको यस स्थानमा दर्शन र पूजाआजा गरेमा सुख, शान्ति, सम्बृद्धि र मनोकामना पुरा हुने विश्वास छ। पूर्वाधार निर्माण, व्यवस्थापकीय सुधार र प्रचारप्रसारका कारण गलेश्वरमा पछिल्लो समय भक्तजनको संख्या बढेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×