काठमाडौँ - अभिनेत्री नीता ढुंगाना तथा अभिनेता ज्योतिष हरिहर अधिकारी आज शुक्रवार वैवाहिक जीवनमा बाँधिदैछन्। लामो समयदेखि प्रेममा रहेका नीता र हरिहरले प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन्।
पछिल्लो एक सातादेखि अभिनेत्री ढुंगानाले सामाजिक सञ्जालमा विवाहअघिका विभिन्न समारोहका तस्बिरहरु शेयर गरिरहेकी छिन्। उनले शेयर गरेका तस्बिरहरुमा उनका नजिकका साथी तथा परिवारका सदस्यहरु देखिन्छन्। नीताले ब्याच्लर पार्टी तथा मेहन्दी समारोहका तस्बिरहरु सार्वजनिक गरेकी हुन्। मेहन्दी समारोहमा अभिनेत्री रेखा थापा, अनु शाहलगायत कलाकार र केही रंगकर्मी पत्रकारको सहभागिता रहेको थियो।
शुक्रवार काठमाडौंको एउटा पाँच तारे होटलबाट सम्पन्न हुने वैवाहिक समारोहमा पनि नीता तथा हरिहरले परिवारका सदस्य तथा निकटका साथीभाइलाई मात्र बोलाएका छन्। पर्सि आइतबार साँझ उनीहरु दुबैले पाँच तारे होटलमै रिसेप्सन राखेका छन्।
उक्त पार्टीमा भने चलचित्र क्षेत्रका लोकप्रिय अनुहारहरुका साथै सञ्चारकर्मीहरुको समेत उपस्थिति रहनेछ।