काठमाडौँ - कवयित्री शान्ति शर्माको कविता संग्रह ‘सपनाको समाधि’को विमोचन गरिएको छ। काठमाडौंमा आयोजित समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, लेखक जीवा लामिछाने, प्राज्ञ देवी नेपाल, कवि प्रल्हाद पोखरेल र सांसद आङदाबा शेर्पाले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन्।
कार्यक्रममा कुलपति उप्रेतीले साहित्यकार शर्माको सिर्जनाकला प्रशंसायोग्य रहेको भन्दै अझै सुन्दर र सशक्त सिर्जनाका लागि शुभकामना दिएका छन्। कवयित्री मोमिलाले शर्माका कविताका विषय र शिल्प बेजोड रहेको टिप्पणी गरेकी छिन्।
समालोचक डा. देवी नेपालले शान्तिले छोटो समयमै उत्कृष्ट सिर्जना गरेर उदाहरण प्रस्तुत गरेको औंल्याएका छन्। भने,साझा प्रकाशनका महाप्रबन्धक प्रल्हाद पोखरेलले शान्तिका कवितामा जीवन, जगत र प्रकृतिको सुन्दर र कलात्मक संयोजन भएको बताएका छन्।
साझा प्रकाशनद्वारा प्रकाशित संग्रहमा प्रेम, प्रकृतिसहित विभिन्न विषयवस्तुका ४७ वटा लामा-छोटा समसामयिक कविता समेटिएको छ। यसअघि शर्माका ‘अम्लान फूल’ गजलसंग्रह र ‘बार्दलीमा जून’ मुक्तक संग्रह प्रकाशित भइसकेका छन्।