काठमाडौँ - शिक्षा, रोजगारी र अवसरको खोजीमा अधिकांशको सहरी क्षेत्रमा छिर्ने क्रम बढ्दो छ। पहाडी जिल्ला, पाल्पा, गुल्मी र अर्घाखाँचीबाट ग्रामीण क्षेत्र त्यागेर रुपन्देही, कपिलवस्तु, नवलपरासीलगायत सहरी क्षेत्रमा अधिकांशले अवसरको खोजीमा बसाइँसराइ गरिरहेका छन्।
प्रशस्त अर्थोपार्जन गर्न सहर तथा विदेशै भौँतारिन नपर्ने तर ग्रामीण क्षेत्रमै पनि मिहिनेत गरे के हुँदैन र भन्ने उदाहरण बनेका छन्। जिल्लाको रिब्दीकोट गाउँपालिका–२ लघुवाका सन्तोषराज नेपाल। गाउँमा फर्केर अहिले उनी रिसोर्ट, कृषि तथा पशुपालन व्यवसाय गरेर अरूलाई पनि रोजगारी दिन सक्षम भएका छन्। ग्रामीण बस्तीबाट अवसरको अभावमा सहरी क्षेत्रमा युवाहरूको आकर्षक बढेर गाउँका घरहरू रित्तो हुन पुगेको अवस्थामा पछिल्ला वर्षहरुमा प्रशस्त अर्थोपार्जनका सम्भावनाले ग्रामीण क्षेत्रमै फर्कनेहरू पनि बढ्न थालेका छन्।
सोही स्थानका सन्तोषराज नेपाल चार वर्षअघि बाउबाजेको पुर्ख्यौली गाउँ फर्किएका हुन्। ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने नाराका साथ गाउँ फर्केर रिसोर्ट, कृषि तथा पशुपालन व्यवसयमा उनी अहिले व्यस्त छन्। चालीस रोपनी जग्गामा कागती, लिची, मुला, साग खेती गरिएको छ। फ्रेसभ्याली एग्रो फार्म प्रालिमा लिची र अर्को वर्षदेखि कागती उत्पादन हुँदैछ। मुलाबाट मात्र यस वर्ष रु. चार लाख आम्दानी भएको उनी बताउँछन्। मिहिनेत गरे गाउँमा पनि प्रशस्त आम्दानी गर्ने वातावरण सहरमा भन्दा झनै फराकिलो छ।
सहरी क्षेत्रमा पैसा कमाउन ठूलै प्रतिस्पर्धा गर्नुपर्ने र लगानी पनि बढी लगाउनुपर्ने बाध्यता रहेको नेपालको भनाइ छ। उनका अनुसार ग्रामीण क्षेत्रमा कृषि, पशुपालन तथा होटल व्यवसायमा सानो लगानी र बिना प्रतिस्पर्धामा काम गर्ने वातावरण भएको हुँदा आफ्नो गाउँठाउँमै रोजगारीको सिर्जना गर्नुपर्छ।अबको युवा पुस्ताले नेपालका ग्रामीण क्षेत्रमा व्यावसायीक ढंगले अगाडि बढ्दा व्यक्तिसँगसँगै गाउँ, समाज र सिङ्गो देशकै आर्थिक स्थितिमा राम्रो सुधार आउने रिब्दीकोटका कृषक नेपालको भनाइ छ।