काठमाडौँ - आईसीसी इलाइट प्यानलका पाकिस्तानी पूर्व अम्पायर असद राउफको निधन भएको छ। हृदयघातका कारण ६६ वर्षको उमेरमा उनको निधन भएको हो।
राउफले ६४ वटा टेस्ट, १३९ ओडीआइ तथा २८ टि-२० मा अम्पायरिङ गरेका थिए। उनी पाकिस्तानका सर्वाधिक प्रख्यात अम्पायरमध्ये एक हुन्। उनलाई सन् २००६ मा आइसीसीको इलाइट प्यानलमा समावेश गरिएको थियो। तर, सन् २०१३ मा मुम्बई प्रहरीले आइपीएलको स्पट फिक्सिङ स्क्यान्डलमा आरोपित गरेपछि उनको करिअरमा अचानक ब्रेक लागेको थियो।
त्यस वर्षको आईपीएल सिजन सकिनुअगावै राउफले भारत छोडेका थिए। त्यसपछि उनी च्याम्पियन्स ट्रफीबाट हटाइए भने आइसीसीले इलाइट प्यानलबाट पनि निकाल्यो। सन् २०१६ मा भारतीय क्रिकेट बार्डले उनलाई विभिन्न ४ आरोपहरु लगाउँदै ५ वर्षको प्रतिवन्ध लगाइदिएको थियो। यद्यपि, आईसीसीले भने उनलाई दोषी ठहर गरेको छैन।