काठमाडौँ - पुराना राजनीतिज्ञ, क्रान्तियोद्धा तथा कानुन व्यवसायी डा.प्रेमकृष्ण पाठकको निधनप्रति विभिन्न पार्टीका नेता र सामाजिक क्षेत्रका अगुवाले दुःख व्यक्त गरेका छन्।
जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालको गणतान्त्रिक आन्दोलनका यथक योद्धा, पार्टीका नेता तथा आफ्ना असल मित्र डा पाठकको दुःखद् निधनबाट राजनीतिक आन्दोलन र पार्टीलाई ठूलो क्षति पुगेको उल्लेख गरेका छन्। काठमाडौँको पुरानो बानेश्वर निवासी डा पाठकको गत माघ २३ गते ८२ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको थियो।
डा.भट्टराईले दिवङ्गत पाठकले देखाएको बाटोमा निरन्तर लागिरहन प्रण गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन्। सोही पार्टीका वरिष्ठ नेता अशोककुमार राईले क्रान्ति, देश र जनताका लागि डा.पाठकले वि.सं २००७ देखि जीवन पर्यन्त क्रियाशीलता देखाएको जनाएका छन्। डा.पाठक समाजवादी पार्टीको संस्थापक उपाध्यक्ष र जसपाबाट ‘क्रान्तियोद्धा’ को सम्मान प्राप्त नेता थिए।
समाजवादीमा प्रवेश गर्नुअघि उनि विभिन्न समयमा नेपाली कांग्रेस, नेकपा (एमाले)लगायत पार्टीमा पनि आबद्ध थिए। गणतन्त्र स्थापनाका लागि उनले रामराजाप्रसाद सिंहको मोर्चासँग पनि सहकार्य गरेका थिए। डा पाठकले भूमिगतकालमा प्रजातन्त्रको स्थापनाका लागि आफ्नो निवासमा जननायक बिपी कोइरालाजस्ता नेतालाई समेत आमन्त्रण गरेर बैठकसमेत गराएका थिए। डा.पाठक पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका पनि प्रिय मानिन्छन्। वि.सं २०४७ मा अन्तरिक सरकारका प्रधानमन्त्री भट्टराईले डा.पाठकलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश प्रस्ताव गर्दा डा.पाठकले आफू सक्रिय राजनीतिमा लागिरहन चाहेकाले अस्वीकार गरेको डा.पाठकका छोरी वरिष्ठ पत्रकार नम्रता शर्माले बताए।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले मुलुकले एक जना असल राजनीतिकर्मी, राष्ट्रियता संरक्षण अभियानकर्मी, राजनीतिक विश्लेषक, इमानदार नागरिक, पुराना नेता र वरिष्ठ कानुन व्यावसायीलाई गुमाउनुपरेको जनाएका छन्। दायित्व वाङ्यमय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, सर्वोच्च अदालत, बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, सचिव ऋषिराम घिमिरेलगायतले पनि दिवङ्गत पाठकप्रति श्रद्धाञ्जलि दिँदै शोकसन्तप्न परिवारमा समवेदान व्यक्त गरेका छन्। डा.पाठक वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकका पति हुन्।
डा.पाठक वि.सं २०३४ मा सो बारको अध्यक्ष थिए। उनि नेतृत्वको कार्यकालको समितिमा दस्य रहेका वरिष्ठ अधिवक्ता हरिहर दाहालले पाठकसँगको सहकार्यको स्मरण गरेका थिए भने वरिष्ठ अधिवक्ता शम्भु थापाले पाठक आफ्ना कानुनी क्षेत्रका गुरु भएको बताए।