काठमाडौँ - अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी आज साँझ महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा चैते छठ मनाइँदैछ।
सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ्ग, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ मनाइँदैछ। छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अन्य शहरी एवम् ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा जिल्लाका प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जङ्गहा, अङ्कुशी नदी तथा नहरको किनारमा अर्घ्य दिनका लागि भक्तजनको तयारी भइरहेको छ। सत्य तथा अहिंसाप्रति मानवको रुचि बढाउन र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत विद्यापिठका प्राध्यापक ध्रुव रायले बताए।
सूर्यको उपासना गरिने पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ। जलेश्वरनाथ महादेव मन्दिरका पूजारी कालिकान्त झाका अनुसार पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठपर्व मनाइने गरिन्छ। यस अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ।