काठमाडौँ - युरोपियन च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड सिजनको पहिलो हार भोग्न बाध्य भएको छ। आरबी लिपजिगसँग रियल ३-२ ले पराजित भएको हो। लिपजिगले रियललाई पराजित गरेसँगै नकआउटको संभावना कायम राखेको छ।
लेइपजिङका लागि जोस्को गार्डियलले २ गोल गर्दा क्रिस्टोफर कुनकु र टिमो वार्नरले समान १-१ गोल गरेका थिए। समूह ‘एफ’ बाट रियल मड्रिड भने यसअघि नै नकआउट चरणमा पुगिसकेको छ।
रियलका लागि भने भिनिसियस जुनियरले पहिलो गोल गर्दा अर्को १ गोल रोड्रिगोले इन्जुरी समयमा पेनाल्टीमा गरेका थिए। त्यस्तै, सोही समूहमा सेल्टिक र सख्तर डोनेस्कले १-१ गोलको बराबरी खेले।
सिटी बराबरीमा रोकियो
त्यस्तै, इंग्लिस क्लब म्यानचेस्टर सिटी भने जर्मन जाइन्ट बाेरुसिया डर्टमुन्डसँग गोलरहित बराबरीमा रोकिएको छ। समूह ‘जी’ मा रहेको सिटी यसअघि नै नकआउट चरणमा पुगिसकेको छ। सिटीले जितका लागि राम्रो मौका पाए पनि गोल गर्न सकेन। रियाद महरेजले पेनाल्टीमा गोल गर्न नसक्दा सिटी गोलरहित बराबरीमा रोकिएको हो।
सिटीले २०१६ यता पाएका ८० पेनाल्टीमा यो २५ औँ मिस हो। सिटी सर्वाधिक पेनाल्टी मिस गर्ने टोली मध्येमा एक हो। प्रशिक्षक पेप ग्वार्डिओलाले पेनाल्टीमा सिटीको समस्या रहेको बताए। उनले भने, ‘म यहाँ आएदेखि अहिलेसम्म २५ पेनाल्टी मिस भएको छ। धेरै पेनाल्टी मिस हुने सिटीको समस्या नै बनेको छ।’
सिटीसँगको बराबरीसँगै डर्टमुन्डले पनि नकआउट चरणमा स्थान बनाएको छ। सोही समूहमा सेभियाले कोपेनहेगनमाथि ३-० को जित निकालेको छ।
चेल्सी समूह विजेता
त्यस्तै, अर्को इंग्लिस चेल्सीले समूह ‘इ’ मा साल्सबर्गमाथि २-१ को जित निकाल्दै समूहको शीर्ष स्थानमा कायम छ। जितसँगै चेल्सीले नकआउट चरणमा समेत स्थान पक्का गरेको छ।
चेल्सीको जितमा मटेओ कोभासिस र केइ हावर्टजले गोल गरेका थिए। जितसँगै चेल्सीले साल्सवर्गको घरेलु मैदानमा ४० खेलसम्मको अपराजित यात्राको अन्त गर्याे।
समूह इमा नै भएको अर्काे खेलमा एसी मिलानले डाइनामो जाग्रेबलाई ४-० ले पराजित गर्दै नकआउटचरणको आशा कायम राखेको छ।