काठमाडौँ - मधेस प्रदेशमा चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार टाइफाइडका कारण हुने गरेको मानवीय क्षति न्यून गर्न नेपाल सरकारले सञ्चालन गर्न लागेको टाइफाइडविरुद्धको खोप अभियान मधेस प्रदेशमा चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म सञ्चालन गरिनेछ। स्वास्थ्य निर्देशनालयले सोमबार जनकपुरधाममा आयोजना गरेको प्रदेशस्तरीय पत्रकार अन्तक्रियामा उक्त खोप अभियानअन्तर्गत १५ महिनादेखि १५ वर्षका बालबालिकालाई खोप दिइनेछ। स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले विशेष अभियानअन्तर्गत हुन लागेको टाइफाइडविरुद्धको खोप कार्यक्रम नियमित खोपसँगै सञ्चालन गर्ने तयारी भएको जानकारी दिए।
मधेस प्रदेशका आठ जिल्लामा खोप लगाउने उमेरका १७ लाख ८७ हजार ७१० जना रहेको जनाउँदै स्वास्थ्य निर्देशनालयले कम्तीमा पनि ९५ प्रतिशत लक्षित वर्गलाई खोप लगाउने तयारी भइरहेको जनाएको छ। नियमित खोप दादुरा, रुवेलासँगै टाइफाइडविरुद्धको खोप दिन लागिएको हो। टाइफाइडविरुद्धको खोप अभियान इस्ट एशियाको पहिलो देश नेपाल बन्ने विश्व स्वास्थ्य सङ्गठनका मधेस प्रदेशका प्रतिनिधि सुरेश शुक्लाले जानकारी दिए। खोप पूर्ण रूपमा सुरक्षित तथा टाइफाइडबाट बचाउन पूर्ण सक्षम रहेको अनुसन्धानबाट पुष्टि भएकाले निर्धक्क भएर खोप लिन निर्देशक झाले आग्रह सबैलाई आग्रह गरे। हातमार्फत् मुखमा दिसाको कण परेको खण्डमा टाइफाइड हुने भएकाले जोगिनका लागि नियमित हात धुने, सरसफाइमा विशेष ध्यान दिने तथा मास्क लगाउने कामलाई निरन्तरता दिन वरिष्ठ स्वास्थ्य प्रशासक श्रवण नायकले आग्रह गरे।
अढाइएमएलको एक भाइल खोपबाट पाँचजनालाई दिन मिल्ने र खोपको विषयमा स्वास्थ्यकर्मीलाई प्रशिक्षित बनाउने कामसमेत भइसकेको निर्देशनालयले जनाएको छ।