काठमाडौँ - जेठ १३ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म 'कबड्डी ४' छैटौँ हप्तामा प्रवेश गरेको छ। रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म शुक्रबार ५ हप्ता पूरा गरी छैटौँ हप्तामा प्रवेश गरेको छ।
'कबड्डी ४' सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको कीर्तिमान मात्र नभइ कोरोना महामारीपछि सबैभन्दा धेरै हलमा टिक्ने फिल्म पनि बनेको छ। शुक्रबार ३५ दिन पूरा गरेको फिल्मले हलमा ५१ दिन मनाउने सम्भावना देखाएको छ।
५ हप्तामा फिल्मले झण्डै २३ करोडको कमाइ गरेको छ, जुन नेपाली फिल्म इतिहासमै सबैभन्दा धेरै हो। फिल्मले विदेश राइट्सबाट पनि राम्रो रकम कमाएको छ। त्यस्तै शुक्रबारदेखि फिल्म भारतका विभिन्न सहरमा प्रदर्शन भइरहेको छ।
कबड्डी फ्रेन्चाइजको अन्तिम फिल्मको रूपमा बनाइएको 'कबड्डी ४ः द फाइनल म्याच'मा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। कबड्डी कै निर्माण टोली 'मास्टर बमकाजी' बनाउने तयारीमा। रहेका छन्। जसमा मुख्य भूमिकामा सौगात मल्ल देखिनेछन्।