काठमाडौँ - नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत निर्धारित मिति भन्दा एक महिना अघि नै सुरु हुन लागेको पुरुष क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ।
राष्ट्रिय खेलकुद (राखेप) ले आइतबार पुरुष क्रिकेटको खेलतालिका सार्वजनिक गरेको हो। नवौँ राष्ट्रिय खेल गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने तालिका रहेको छ।
तर, नेपाल टी-२० लिगको मिति पनि त्यही समयमा पर्ने भएकोले नेपाल क्रिकेट संघ (क्यान) को प्रस्ताव र सहभागी टोलीहरूको सहमतिपछि राखेपले एक महिनाअघि नै क्रिकेट सुरु गर्न लागेको हो।
‘क्रिकेटको अन्तर्राष्ट्रिय खेल तालिकासँग नबाझिने गरि आयोजना गरिदिन नेपाल क्रिकेट संघ क्यानबाट भएको आग्रह र प्रस्ताव गरेको मिति र स्थान सम्वन्धमा सहभागट्ठ ११ वटै टिमलाई पत्राचार गरिएको र सहभागी सबै टिमबाट समेत सहमति प्राप्त भए पश्चात मिति र खेल स्थल परिवर्तन गरिएको छ,’ नवौँ राष्ट्रिय खेलकुद प्रचार प्रसार उपसमितिका सचिव खुशराज दाहालले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
नवौँमा ७ प्रदेश, ३ विभाग र एनआरएन गरि ११ टिम सहभागी हुनेछन्। पुरुष क्रिकेटमा पनि ११ वटै टिमले प्रतिस्पर्धा गर्नेछन्। ११ टिमलाई २ समूहकमा विभाजन गरिएको छ। समूह ए मा मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश रहेका छन्। समूह बी मा एनआरएन, बागमती प्रदेश, सुदूरपश्चिम, प्रदेश एक र एपीएफ रहेका छन्।
प्रतियोगिताको खेलहरु कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा खेलाइनेछ।
एनआरएन र सुदूरपश्चिमबीच भदौ २३ गते टीयू मैदानमा उद्घाटन खेल हुनेछ। खेल बिहान सवा ९ बजे सुरु हुनेछ। त्यही दिन टीयू मैदानमा बागमती र प्रदेश एकबीच खेल हुनेछ। दोस्रो खेल सवा १ बजे सुरु हुनेछ। यस्तै मुलपानी मैदानमा मधेश र गण्डकी तथा लुम्बिनी र कर्णालीबीच पहिलो दिन खेल हुनेछ।
दुवै समूहका शीर्ष २ टिम सेमिफाइनल प्रवेश गर्नेछन्। फाइनल खेल भदौ ३१ गते हुनेछ।