इलाका प्रशासन कार्यालय गौरीगञ्जको भवन शिलान्यास

झापा - जिल्लाको गौरीगञ्जस्थित इलाका प्रशासन कार्यालयको आफ्नै भवन बन्ने भएको छ। गौरीगञ्ज–३ स्थित निर्माणस्थलमा बिहीबार एक कार्यक्रम गरी झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीले संयुक्तरूपमा शिलान्यास गरे।

इलाका प्रशासन कार्यालयको भवन निर्माणका लागि पालिकाका निर्वतमान अध्यक्ष बाबुराजा श्रेष्ठ, निर्वतमान वडाध्यक्ष मखना महतो, केशव अग्रवाल, महेश्वर कार्कीले संयुक्तरूपमा दुई कठ्ठा १० धुर जग्गा निःशुल्क प्रदान गरेका थिए। विसं २०७२ मा गौरीगञ्जमा इलाका प्रशासन कार्यालय स्थापना भए पनि आफ्नो भवन नहुँदा घर भाडामा लिई सेवा दिँदै आएको छ। कार्यालयमा कोठा अभावका कारण सेवाग्राहीले असुविधा पाउँदै आएका थिए।

भवन निर्माणको जिम्मा दमकको प्रवीण निर्माण सेवाले पाएको छ। तीन तलाको निर्माण हुने उक्त प्रशासनिक भवनमा कार्यालय प्रमुखको कार्यकक्ष, आवास कक्ष, सभाहलसहित १२ कोठा रहने इञ्जीनियर भूपेन्द्र यादवले जानकारी दिए। उनका अनुसार उक्त भवन रु तीन करोड २२ लाख ७९ हजार ८२४ को लागतमा निर्माण हुनेछ।

सघन सहरी विकास तथा भवन निर्माण आयोजनामार्फत ठेक्का लागेको भवन यही २०८० साल असार १६ गतेभित्रमा निर्माण सम्पन्न गरिने कम्पनीका सञ्चालक प्रकाश केसीले बताए। जिल्ला प्रशासन कार्यालयअन्तर्गत झापाको दमक र गौरीगञ्जमा पनि स्थानीयवासीको सुविधाका लागि इलाका प्रशासन कार्यालय स्थापना छन्। त्यसमध्ये दमकमा यसअघि नै आफ्नै भवन निर्माण भइसकेको छ।

यसैबीच इलाका प्रशासन कार्यालय गौरीगञ्जले आर्थिक वर्ष २०७८÷७९ मा दुई हजार ६०३ नयाँ नागरिकता प्रमाणपत्र वितरण, ९६ जनालाई वैवाहिक अङ्गिकृत नागरिकता, एक हजार ७०७ प्रतिलिपि नागरिकता, ४७ जनालाई नाबालक परिचयपत्र र एक हजार ४२० जनालाई राहदानी वितरण गर्नाका साथै दु्रत सेवाबाट ४१७ जनालाई राहदानी वितरण गरिएको जनाइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×