तनहुँमा कृषि गणना गरिँदै

काठमाडौँ - तनहुँमा आगामी वैशाख ६ गतेदेखि १९ गतेसम्म कृषि गणना गरिने भएको छ। कृषकले चलन गरेको जग्गा, लगाएको बाली, पशुपन्छीपालन तथा कृषिमा वातावरणीय प्रभावसम्बन्धी विवरण सङ्कलन गर्ने उद्देश्यसहित कृषिगणना गर्न लागिएको हो। 

कृषि विकासका लागि स्थानीय, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका योजना तर्जुमा एवं नीति निर्माण, अनुगमन तथा मूल्याङ्कन गर्न आवश्यक पर्ने तथ्याङ्कको खाँचो पूरा गरी योजनाविद् र नीति निर्मातालाई सघाउ पुर्याउन कृषिगणना गर्न लागिएको कार्यालय प्रमुख नवराज पोख्रेलले जानकारी दिए। कृषि गणनाका लागि तनहुँमा ६३  गणक परिचालन गरिनेछ। त्यस्तै, १६  सुपरिवेक्षक र एक कृषिगणना अधिकृत परिचालन गरिने उनले जानकारी दिए। कृषि गणनामा तथ्याङ्क सङ्कलनको कार्य एउटै समयसीमाभित्र दुई चरणमा सञ्चालन गरिनेछ। गणक तथा सुपरिवेक्षकलाई यही चैत २५ गतेदेखि वैशाख ३ गतेसम्म तालिम सञ्चालन गरिनेछ भने २४ गतेसम्म गणक तथा सुपरिवेक्षक नियुक्ति भइसक्नेछन्।

पहिलो चरणमा गणकद्वारा छानिएका गणना क्षेत्रका प्रत्येक व्यक्तिको घरदैलोमा पुगी तोकिएको न्यूनतम मापदण्ड पूरा गरेका कृषक परिवारको सूचीकरण कार्य गरिने उनले पोख्रेलले जानकारी दिए। दोस्रो चरणमा निश्चित तथ्याङ्कीय छनोट विधिबाट सुपरिवेक्षकद्वारा छानिएका कृषक परिवारमा पुगी गणकद्वारा कृषक परिवार प्रश्नावली फारममार्फत कृषकले चलन गरेको जग्गा तथा पशुपन्छीपालन, अन्यखेती, वातावरणलगायत विविध विषयसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिनेछ। दोस्रो चरणमा सुपरिवेक्षकबाट वडास्तरीय सामुदायिक प्रश्नावलीमार्फत छनोटमा परेका गणना क्षेत्र रहेको वडाको भौगोलिक अवस्थिति र सामाजिक आर्थिक अवस्था, सो क्षेत्रमा भएका पूर्वाधार एवं सेवासुविधा र त्यस क्षेत्रमा सञ्चालित विकास कार्यक्रमसम्बन्धी विवरण सङ्कलन गरिने बताइएको छ। 

सोही अवधिमा सुपरिवेक्षकबाट जिल्लामा सञ्चालित संस्थागत कृषि चलनको पूर्णगण्ना गरिने र गणक तथा सुपरिवेक्षकले गर्ने स्थलगत तथ्याङ्क सङ्कलन कार्यको केन्द्र, प्रदेश तथा जिल्ला तहबाट विभिन्न चरणमा सुपरिवेक्षण गरिने कार्यालय प्रमुख पोख्रेलले जानकारी दिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×