पर्वत। गाउँघरका सामुदायिक विद्यालय विद्यार्थीको अभावमा धमाधम बन्द भइरहेका छन्। विद्यार्थीको अभावमा बन्द भएका विद्यालय नजिकको विद्यालयमा गाभिए पनि कतिपय विद्यालय भने अभिभावकको पहलमा विद्यार्थी जुटाएर फेरि सञ्चालनमा आउन थालेका छन्।
फलेवास नगरपालिका–८ ठानामौलामा पाँच वर्षसम्म बन्द रहेको एक विद्यालय अहिले सञ्चालनमा आउन थालेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वयम्सेवी शिक्षक बनेर पढाउन थालेपछि जनता आधारभूत विद्यालयले पुनर्जीवन पाएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद तिमिल्सिनाले आफू स्वयम्सेवी शिक्षक बनेर पढाउने प्रस्तावसहित विद्यालय खोल्न आग्रह गरेर अभिभावकको सहमति लिएपछि विद्यालय सञ्चालन भएको छ। बन्द रहेको विद्यालय यस वर्षको लकडाउनपछि गत भदौ ३० गतेदेखि सुरु भएको हो। विद्यालयमा अहिले २२ विद्यार्थी भर्ना भइसकेका छन्।
लिमिठाना गाविसका पूर्वाध्यक्षसमेत रहेका तिमिल्सिना शिक्षण सेवाबाट अनिवार्य अवकाश भएपछि विद्यालय सञ्चालन गर्न जुटेका थिए। कक्षा १ देखि ५ सम्मका विद्यार्थी घण्टौँको यात्रा गर्दै अन्यत्रका विद्यालयमा गए पनि बाल कक्षाका विद्यार्थीलाई भने त्यो सम्भावना नहुने भएकाले बाल कक्षा भने सोही विद्यालयमा चल्दै आएको थियो।
बाल विकास केन्द्रमा कार्यरत एक शिक्षक र एक कार्यालय सहयोगी मात्रै रहँदै आएको विद्यालयमा यतिखेर २ कक्षासम्मको पढाइ भइरहेको छ। अहिले क्रमिक रुपमा विद्यार्थी बढ्दै गएका र अब क्रमशः कक्षा ५ सम्मै पठनपाठन गराउने योजनामा आफूहरु रहेको तिमिल्सिना बताउछन्।
“पहिलो पटकको प्रयासमा कुरा मिलेन, म पनि त्यत्तिकै बसेँ, विद्यालय सुरु गर्नैपर्छ भन्ने मेरो मनमा खसखस त छँदै थियो, फेरि दोस्रोपटक भेला बोलाएपछि गाउँलेले ल तपाईं नै अध्यक्ष भएर काम गर्ने भए हामी तयार छौँ भने”, उनले भने, “राजनीतिक रुपमा कसैले पनि हस्तक्षेप गर्ने, निहुँ खाज्ने गर्ने काम गर्ने हो भने म तयार छैन, मैले भनेको मान्ने हो भने म विद्यालय चलाउँछु भनेपछि सबैको सहमति भयो, अहिले २२ विद्यार्थी भर्ना गरिसकेको छु।”
विद्यालय सञ्चालनमा आएपछि अभिभावक पनि खुसी छन्। गाउँको विद्यालयलाई सबैको साझा तथा बराबर दायित्व भएको विद्यालयका रुपमा चलाउने भनेपछि घण्टौँको दूरीमा बालबालिकालाई विद्यालय पठाउँदै आएका अभिभावकको मनमा खुसी मिलेको अच्युतराज पन्तले बताए। नगरपालिकाको शिक्षा शाखाप्रमुख कृष्ण आचार्यले लामो समयसम्म बन्द रहेको विद्यालय सञ्चालनमा आउनु खुसीको कुरा भएको जनाउँदै अहिले सुरुमा एक शिक्षकको दरबन्दी व्यवस्थापन गर्ने काममा आफूहरु लागेको बताए। विद्यालयले क्रमिक रुपमा कक्षा थप गर्दै जाने र विद्यार्थी सङ्ख्यासमेत बढाउने भनेका कारण त्यो भएमा पुनः दरबन्दी पनि थप गर्न सकिने उनको भनाइ छ।