काठमाडौँ - ५ खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले आज (बिहीबार) केन्यासँग प्रतिस्पर्धा गर्दैछ।
नैरवीको जिमखाना क्लब मैदानमा नेपाल केन्याबीचको खेल दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ। पहिलो खेलमा राम्रो प्रदर्शन गर्दै सुखद नतिजा निकाल्ने लक्ष्यमा नेपाल रहेको छ। विदाइ कार्यक्रममा मुख्य प्रशिक्षक मनोज प्रभाकरले टिमले राम्रो प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताएका थिए।
राम्रो नतिजा निकाल्ने भनिए पनि भिसा समस्याका कारण सबै खेलाडी एकै पटक केन्या जान सकेनन्। ११ खेलाडी, मुख्य प्रशिक्षक प्रभाकरसहितको टिम सोमबार राति नै केन्या गएको थियो। तर सोमपाल कामी, विवेक यादव, आदिल आलम, बसिर अहमद र शाहब आलम भने भिसा समस्याको कारण टिमसँग जान पाएका थिएनन्।
सोमपाल कामी र विवेक यादवको भने भिसा आएर मंगलबार राति नै केन्या प्रस्थान गरेका छन् भने बाँकी ३ खेलाडी अझै नेपालमै छन्।
दोस्रो खेलमा नेपालले १० गते प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, १२, १३ र १४ गते तेस्रो, चौथो र पाँचौ खेल खेल्नेछ। यसपछि ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ। पहिलो खेल भदौ १७ दोस्रो १८ र अन्तिम खेल २० गते खेल्नेछ।