काठमाडौँ - चर्चित नेपाली कलाकारहरुको प्रस्तुति रहने ‘धमाका २०७९’ अस्ट्रेलियामा सुरु भएको छ। अस्ट्रेलियाका ७ सहरमा आयोजना हुने कार्यक्रममा लोकदोहोरी गायक पशुपति शर्मा, गायिका रचना रिमाल, हास्य कलाकार सुवोध गौतम र दीपक आचार्य ‘काकु’को प्रस्तुति रहने छ।
केबीसी अस्ट्रेलियाले आयोजनामा शुक्रबार पर्थबाट सुरु भएको टुर आइतबार लन्चचेस्टनमा हुँदैछ। यसलगत्तै ब्रिसबेनमा ३० जुलाई अर्थात् शनिबार कार्यक्रम हुने भएको छ।
क्वीन्सल्याण्ड नेप्लिज कम्युनिटी सेन्टरको सहयोगार्थ हुन लागेको कार्यक्रममा तीजका भाका, नेपाली मौलिक लोकदोहोरीको धुनका साथै नेपाली संगीतको आधुनिक आवाज समेत गुञ्जिने आयोजक केबीसीले जनाएको छ।
अगस्ट १ मा मेलबर्नमा कार्यक्रम हुनेछ भने अगस्ट ५ मा राजधानी क्यानबेरामा कलाकारहरुले प्रस्तुति दिनेछन्। अगस्ट ६ का दिन अस्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा ‘तीन मेला विथ कमेडी नाइट्स’ नाममा कार्यक्रम हुनेछ।
यसपछि अगस्ट ८ मा एडिलेडमा तीज धमाका २०७९ गरिनेछ। जसलाई गिरिश इभेन्टसले संयोजन गरेको छ। डोमपोलिस्कि सेन्टरमा हुने कार्यक्रमसँगै धमाका २०७९ अस्ट्रेलिया टुर सम्पन्न हुनेछ।