काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियाको सामना गर्दैछ। नेपाल र नामिबियाबीचको खेल अपरान्ह ३ः१५ बाट सुरु हुनेछ।
विश्वकप लिग-२ को सिरिजमा नेपालले नामिबियासँग पहिलोपटक खेलिरहेको हो। सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा बुधबार स्कटल्याण्डविरुद्ध खेल्नेछ।
नामिबियाले गत टी-२० विश्वकपको दोस्रो चरणको यात्रासमेत गरेको थियो। सोही कारण नामिबिया योपटक पनि विश्वकप खेल्दैछ।
नेपालले भने लय कायम राख्न नसक्दा जित नजिक पुगेको म्याच पनि गुमाइरहेको छ। विश्वकप लिग-२ मा हालसम्म नेपालले १६ म्याच खेलेको छ।
जसमा ७ खेलमा जित र ८ खेलमा हार व्यहोरेको छ। एक खेलमा बराबरी भएको छ। हाल नेपाल १५ अंकसहित पाँचौँ स्थानमा रहेको छ। नामिबियाले १५ मध्ये ७ खेलमा जित र ८ खेलमा हार व्यहोरेको छ। ऊ तालिकाको छैटौँ स्थानमा रहेको छ।