काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समाज परिवर्तनको लागि तयार भएको कुरा मतपत्रमा देखिन थालेको बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग सभापति लामिछानेले समाज परिवर्तनका लागि तयार भइसकेको मतपत्रमा जायर हुन थालेको बताएका हुन्।
उनले आफ्नो पार्टीको एक वर्षको यात्रा सौहार्दपूर्ण र सकारात्मक रूपमा बितेको बताए। उनले रास्वपालाई जनताले आशा र भरोसाको रूपमा लिएको बताए।
“सुरु गर्दा हामीलाई विश्वास त थियो। तर, त्यो विश्वास मतमा बदलिन्छ कि बदलिँदैन भन्ने कुराको त्यतिधेरै हेक्का थिएन। समाजले परिवर्तन खोजेको छ भन्ने कुराको जानकारी त विभिन्न माध्यमबाट हामीलाई थियो,” उनले भने, “तर, साँच्चै समाज अब परिवर्तनका लागि तयार नै भएको हो। र, त्यो तयार भएको कुरा मतपत्रबाट नै जायर गर्छ भन्ने कुराको एउटा स्पष्ट संकेत, हाम्रो भाषामा घन्टी बजिसकेको छ। यो एक वर्षको यात्रा अत्यन्त सौहार्दपूर्ण रह्यो। यसलाई अत्यन्त सकारात्मक रूपमा हेरेको जानकारी गराउँछु।”
सभापति लामिछानेले आफूहरू संगठन निर्माण र सुदृढिकरणमा लागिरहेको बताए।