काठमाडौं । पशुपतिमा भारत सरकारको सहयोगमा निर्माण भएको धर्मशालाबारे छानबिन गर्न समिति गठन भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले छानबिन समिति गठन गरेको हो । समितिको संयोजकमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुबेदी रहनुभएको छ । नेपाल भारत पशुपति मैत्री धर्मशाला सम्बन्धमा छानबिनका लागि उक्त समिति गठन गरिएको हो ।
समितिमा पाँच जना सदस्य रहेका छन् । उक्त समितिका सदस्यमा परिषद् सदस्य आशा पाण्डे, बिश्वकरण जयन तथा देवीप्रसाद बराल रहनु भएको छ भने मन्त्रालयका लेखाका उप सचिव सदस्य रहनु भएको छ । समितिलाई सात दिन भित्रमा छानबिनको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।
पशुपति मैत्री धर्मशालालाई बतास समूहले होटेलका रूपमा सञ्चालन गरिएको भन्ने समाचार बाहिरिएपछि त्य सत्य छानबिनका लागि समिति गठन गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डाघनश्याम खतिवडाले जानकारी दिए ।
उक्त धर्मशालालाई पशुपति क्षेत्र विकास कोषले होटेल आनन्द प्रालि (बतास समूह)लाई भाडामा दिएको थियो । उक्त समूहले पशुपति मैत्री धर्मशालालाई होटलका रूपमा सञ्चालन गरेको तथा तीर्थालु एवं धार्मिक पर्यटकहरूसँग मनपरी भाडा लिने गरेको आरोप लागेको छ ।