काठमाडौँ - कर्णाली खेलकुद क्लबको आयोजनामा आगामी चैत २६ गते ४९ किलोमिटर लामो ‘जुम्ला–रारा अल्ट्रा म्याराथन २०७८’ हुने भएको छ।
जुम्लादेखि मुगुको राराताल जाने पद मार्गको प्रवद्र्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने उद्देश्यले म्याराथन आयोजना गरिएको आयोजकले जनाएका छ। काठमाडौँमा आज पत्रकार सम्मेलन गरी क्लबका अध्यक्ष सरोज शाहीले म्याराथनका लागि खेलाडी दर्ता खुला भएको जानकारी दिए। अहिले आयोजना हुने म्याराथन तेस्रो रहेको जनाइएको छ।
यसअघि विसं २०७५ मा पहिलो र २०७६ मा दोस्रा संस्करणको खेल आयोजना गरिएको थियो। कोरोनाका कारण विसं २०७७ मा सञ्चालन हुन नसकेको म्याराथन यसपटक पुनः आयोजना गरिएको उहाँले जानकारी दिए। समुन्द्री सतहबाट दुई हजार ३०० मिटरको उचाइमा रहेको जुम्ला सदरमुकाम खलङ्गाबाट सुरु हुने म्याराथन तीन हजार ३०० मिटरको उचाइमा रहेको डाँफेँ लेक, चार हजार १०० मिटरको उचाइमा रहेको चुच्चेमारा लेक हुँदै दुई हजार ८९० मिटरको उचाइमा रहेको राराताल छेउमा समापन हुने जनाइएको छ।
जुम्लादेखि दुई दिनको पदयात्रा रहेको सो रुटमा व्यावसायिक खेलाडी ५ देखि ७ घण्टामा पार गर्छन्। विगतमा पुरुष र महिला गरी ३४७ खेलाडीसम्मको सहभागिता रहेको यस खेलको यसपालिको संस्करणमा पनि सोही हाराहारीमा सहभागिता हुने अपेक्षा राखिएको छ।