काठमाडौँ - गिरिजाप्रसाद कोइराला फाउन्डेशनले आयोजना गर्न लागेको ‘जिपी कोइराला तेक्वान्दो च्याम्पियनशिप २०२२’प्रतियोगिता यही चैत ५ र ६ गते हुने भएको छ।
स्व. कोइरालाको १२औँ स्मृति दिवसका अवसरमा काठमाडौँको दशरथ रङ्गशालामा सो प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितामा सात प्रदेशको दुई विभागीय टोली (त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलकका क्रमशः तीन-तीन महिला-पुरुष, महिला तौल समूह ४७–५५ केजी, पुरुष तौल समूह ५५–६३ केजी) खेलाडीहरुको सहभागिता हुने भएको छ। विजेता खेलाडीलाई क्रमशः ५००, ३०० र २०० अमेरिकी डलरका साथै पदक र प्रमाणपत्र वितरण गरिने फाउन्डेशनका खेलकुद विभाग सहसंयोजक धर्मराज गिरीले जानकारी दिए।
उनले भोलिका दिन खेलाडीहरुलाई अगाडि बढाउन प्रेरित गर्नाका साथै खेलबाटै तिनको जीवन व्यतित गर्न सकिने बनाउन प्रयास गरिएको गरिएको बताए। फाउन्डेशनको शाखा ७७ वटा जिल्लामा छ । पूर्वप्रधानमन्त्री स्वः कोइरालाको योगदान तथा विचारलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।