आईसीसी टी-२० पुरुष विश्वकप छनोट : नेपाल सेमिफाइनल प्रवेशका लागि क्यानडासँग भिड्दै

काठमाडौँ- आईसीसी टी-२० पुरुष विश्वकप छनोट अन्तर्गत आज नेपाल सेमिफाइनल प्रवेशका लागि क्यानडासँग भिड्दै छ। ओमनको अल अमेरत क्रिकेट मैदानमा आज अपारह्न ३:४५ बजे नेपाल र क्यानडाको खेल हुनेछ। नेपाल तेस्रो खेलमा पनि जित हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ।

यसअघि भएका दुवै खेलमा नेपालले जित हासिल गरेको छ। पहिलो खेलमा आयोजक ओमनलाई ३९ रनले पराजित गरेको थियो। न्युन स्कोरको खेलमा नेपाली बलर चम्किँदा सहजै जितको थियो।

त्यस्तै, दोस्रो खेलमा कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले फिलिपिन्सलाई १३६ रनले पराजित गरेको थियो। जसमा भुर्तेलले शतक र ऐरीले अर्ध शतक प्रहार गरेका थिए।

दुवै खेल जितेको नेपालले ४ अंकसहित समूहको शीर्षस्थानमा छ। त्यस्तै, दुई खेलमा एक जित र एक हार ब्यहोरेको क्यानडा २ अंकसहित दोस्रो स्थानमा छ। आयोजक ओमन पनि एक जित र एक हारसहित २ अंक जोडेर रनरेटको आधारमा तेस्रो स्थानमा छ। फिलिपिन्सले भने दुवै खेल हारेको छ।

आजको खेल जितेमा नेपाल समूहको शीर्षस्थानमा रहँदै सेमिफाइनल प्रवेश गर्नेछ। क्यानडासँग हारेमा पनि नेपालको सेमिफाइनल पुग्ने सम्भावना जिवितै रहनेछ। त्यसका लागि नेपालको हारको अन्तर कम हुनुपर्नेछ। फिलिपिन्सले ओमनलाई पराजित गरेमा पनि नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ। फिलिपिन्स र ओमनको खेल पनि आजै अपराह्न ३:४५ बजे हुनेछ।

समूह ए मा रहेका जर्मनी र आयरल्यान्ड तथा बहराइन र युएईबीच पनि आज बिहान ११ः४५ बजे खेल हुँदै छ। यूएई ४ अंकसहित शीर्षस्थानमा छ भने बहराइन २ अंकसहित दोस्रो स्थानमा छ।

दुई अंक नै जोडेको आयरल्यान्ड रनरेटका आधारमा तेस्रो स्थानमा छ। जर्मनीले भने दुवै खेल हारेको छ।

फाइनलमा पुग्ने दुई टोली १६ अक्टोबरदेखि १३ नोभेम्बरसम्म अस्ट्रेलियामा हुने आईसीसी टी-२० विश्वकपको लागि छनोट हुनेछन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×