बेनी - म्याग्दीको बेनी नगरपालिका–२को बगरफाँटगाउँ पहिरा र नदी कटानको जोखिममा पर्दै गएको छ। विसं २०५७ देखि म्याग्दी नदीले कटान गर्न सुरू गरेको बगरफाँटमा रहेका २०० घरधुरी वर्षाको समयमा गाउँको शिरानबाट खस्ने पहिरा र गाउँको पुछारमा नदीको कटानबाट वर्षेनी त्रसित हुने गरेका छन्।
नदीको कटान नियन्त्रणका लागि नदी किनारमा ग्याबियन जाली भर्ने गरिएको भए पनि वर्षामा ढुङ्गा र लेदोसहित उर्लिएर आउने बाढी नियन्त्रण हुन नसकेको स्थानीयवासीले बताएका छन्। “गाउँ जोखिममा छ, शिरानबाट खस्ने पहिरा र पुछारमा बग्ने नदीका कारण वर्षामा कहिल्यै ढुक्कसँग सुत्न सकिँदैन, कतिबेला के हुन्छ भन्ने त्रास रहिरहन्छ”, नदी कटानबाट गाउँलाई जोगाउन वर्षेनी तटबन्धनको पहल गर्दै आउनुभएका स्थानीय समाजसेवी नारायण कार्कीले बताए।
नदीको कटानका कारण बगरफाँटको १५० रोपनीभन्दा बढी खेतीयोग्य जमीन क्षय भइसकेको र नदी कटानको समस्या अझै बढ्दै गएको स्थानीय वुद्धिजीवी तथा म्याग्दी नदी कटान नियन्त्रण योजना उपभोक्ता समितिका अध्यक्षसमेत रहेका कार्कीले जानकारी दिए। बेनी–३ को तारोखेतबाट बगेर बगरफाँटको शिरानमा अवस्थित पहरो हुँदै आउने पहिरो नियन्त्रण सम्भव नभए पनि नदी कटान नियन्त्रण गर्न सके केही मात्रामा गाउँ सुरक्षित रहने उनको भनाइ छ।
गाउँको शिरानमा रहेको विशाल पहिरो नियन्त्रणका लागि स्थानीय तहको प्रयासले मात्र नहुने भएकाले प्रदेश वा सङ्घबाटै ठूलो योजना आवश्यक पर्ने देखिएको छ। तर समस्या समाधान नभएकाले यसले सदरमुकाम बेनीबजारसमेत प्रभावित हुने अनुमान गरिएको छ। पहिरो र नदी कटानका कारण सुन्दरबस्ती र कृषि उपजका लागि उर्वर फाँट रहेको बगरफाँट साँघुरिँदै गएको छ। आप्रे र उडाइनो छहराको बीचबाट खस्ने पहिराका कारण गाउँको शिरानमा रहेको जङ्गल र बस्ती मासिने खतरा बढेको जनाइएको छ। पहिराले गाउँ कुरूप बन्दै गएको र पाँच घरपरिवार बसाइँ सरिसकेको स्थानीय टेकबहादुर कार्कीले जानकारी दिए।