ताप्लेजुङ - ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ स्थित कात्तिके सातपाखा सामुदायिक वनमा आइतबारदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन। क्रमशः आगो फैलिँदै गएपछि मानव बस्तीहरू जोखिममा परेको उक्त सामुदायिक वनका अध्यक्ष श्रीप्रसाद घिमिरेले जानकारी दिए।
“अचानक आइतबारदेखि लागेको आगो नियन्त्रण गर्न गए रातिदेखि नै खटिरहेका छौँ, रातभर सुत्न पाएको छैन, केही बस्ती र एउटा स्कुल जोगायौँ, अहिले भञ्ज्याङ आसपासमा आगो पुग्यो, यहाँका तीन वटा घर जोखिममा देखिएका छन्”, अध्यक्ष घिमिरेले भने। उनका अनुसार उक्त घर जोगाउन अग्नि रेखा बनाईएको छ।
आगो नियन्त्रणमा स्थानीय ३०/३५ जना युवा खटिएका छन्। खोक्लिङ प्रहरी चौकीबाट प्रहरीको टोली खटिएको घिमिरेले बताए। आगलागीले सामुदायिक वनको ५० प्रतिशतभन्दा बढी भाग जलेको बताइएको छ। आगलागी क्षेत्र भिरैभिर भएकाले आगो नियन्त्रणमा समस्या भएको स्थानीयले जानकारी दिए। दुम्जा र रातमाटे बस्ती आगलागीबाट जोखिममुक्त भएका छन्। मेवाखोला नजिकैबाट आगो सुरु भएको थियो।
आगलागी कसरी भयो भन्ने एकीन भएको छैन। खोक्लिङका केही वन प्राय आगलागीको चपेटामा पर्दै आए पनि जोखिम न्यूनीकरणका लागि ठोस उपाय भने भएको देखिदैन। जिल्लाका अन्य क्षेत्रमा वन डढेलोका घटना वर्षेनी दोहोरिने गरेका छन्। आगलागीले वन क्षेत्र सखाप हुँदै आए पनि वन सम्पदाको संरक्षणमा विशेष ध्यान कसैले नदिने गरेको स्थानीयको गुनासो छ।