ओखलढुंगा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले जिल्लाका आठ स्थानीय तहलाई तीन क्लष्टरमा विभाजन गरेर संगठन विस्तार अभियानमा तीव्रता दिएकाे छ ।
आठमध्ये खिजीदेम्वा, लिखु र चम्पादेवी एक क्लष्टर, सुनकोसी, मानेभञ्ज्याङ र मोलुङ दुई क्ल्ष्टर र चिशंखुगढी र सिद्धिचरण नगरपालिका तीन क्लष्टरमा बाँडेर नेताहरूको जिम्मेवारी तोकिएको जिल्ला अध्यक्ष हशंराज वाग्लेले जानकारी दिए ।
सचिवालय बैठकबाट अभियान सञ्चालनको रणनीति तयार गरिएको सो पार्टीले जनाएको छ । तीन क्लष्टरमा जिल्लाका पदाधिकारीहरूको अगुवाइमा सचिवालय सदस्य र जिल्ला सदस्यहरूको जिम्मेवारी तोकिएको छ । माघभरिमा अधिकांश वडाहरूको कमिटी निर्माण गरिसक्ने लक्ष्य राखिएको उपसचिव कमल खड्काले बताए ।
यसअघि पहिलो चरणको अभियानमा केही पालिका र वडाहरूको कमिटी गठन भइसकेको छ ।
संगठन विस्तारका लागि कार्यकर्ता तहमा माग भए पनि नेताहरू पुग्न नसकेको गुनासोलाई ध्यानमा राखेर जिल्ला अध्यक्ष वाग्ले, केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज नेत्र भट्टराई र केन्द्रीय सदस्य निर्मला श्रेष्ठको टोली आवश्यकता र मागका आधारमा वडा तहमा पुग्ने गरी जिम्मेवारी तोकिएको छ ।
एकीकृत समाजवादीको पूर्ण बैठक फागुनमा बोलाइएको जिल्ला इञ्चार्ज भट्टराईकाे भनाइ छ ।