कांग्रेस महाधिवेशन उद्घाटन समारोह : कम्युनिष्ट नेताहरू ओली, दाहाल र नेपाल एउटै मञ्चमा

काठमाडौँ । राजनीतिक दलबीचमा मनोमालिन्य बढेका बेला नेपाली कांग्रेसको १४औँ महाधिवेशनले नेपालका वामपन्थी पार्टीका नेतालाई एउटै मञ्चमा उभ्याउने अवसर प्रदान गरेको छ।

पछिल्लो समय पानी बाराबारको अवस्थामा रहेका मुलुकका ठूला बामपन्थी दलका नेताहरू आज कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा एकै मञ्चमा देखिएका छन्। खासगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजन र त्यसपछि नेकपा (एमाले)को विभाजनपछि कम्युनिष्ट पार्टीका नेताबीच मनोमालिन्य बढेको छ। पार्टी विभाजनपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकअर्कालाई आलोचना गर्दै आएका छन्।

केही दिनअघि मात्र चितवनमा सम्पन्न एमालेको १०औँ महाधिवेशनमा पनि अध्यक्ष नेपाललाई बोलाइएको थिएन भने अध्यक्ष दाहालले सहभागिता जनाएनन्। एउटै मञ्चमा रहनु त परै जाओस् एक अर्काप्रति गालीगलौज र लान्छना लगाउन उद्दत नेतालाई एउटै मञ्चमा रहने सुवर्ण अवसर कांग्रेसले जुटाइदिएको भन्न सकिन्छ। सङ्घीय संसद् विघटन गर्ने तत्कालीन प्रधानमन्त्री ओलीको कदमपछि पार्टीभित्र गम्भीर मतभेदका कारण तत्कालीन नेकपा भित्र पुष्पकमल दाहाल र माधवकुमार नेपालले सडक आन्दोलनमा उत्रिएका थिए।

सर्वाेच्च अदालतले सदन पुनःस्थापनको निर्णय सुनाएपछि बेग्लावेग्लै पार्टीका अध्यक्ष बन्न पुगेका नेताहरू यसबीचमा एक अर्कालाई खुइल्याउन नै व्यस्त रहेका कारण एउटै मञ्चमा रहने बस्ने अवसर मिलेको थिएन। कांग्रेसका यस महाधिवेशनले ती बामपन्थी नेतालाई एउटै मञ्चमा रहने अवसर जुटाएको छ। कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा ती तीनैजना नेता एकसाथ मञ्चमा देखिँदा धेरैले चासोका साथ हेरेकाछन्। यसैगरी, मञ्चमा पछिल्लोपटक विभाजित जनता समाजवादी पार्टी नेपालका नेताहरू पनि एकै मञ्चमा देखिएका छन्। जसपा नेपालबाट विभाजित भएर बनेको दल लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जसपाका अध्यक्ष उपेन्द्र यादव पनि एकै मञ्चमा देखिँदा सहभागीले चासोका साथ हेरेका हुन्।

संयोग भन्नुपर्छ कांग्रेस महाधिवेशन उद्घाटनको दिन अन्तर्राष्ट्रिय मानवाधिकार दिवससमेत परेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×