काठमाडौँ - नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टोली गएराति नेपाल आएको छ। बंगलादेशको टोली राति साढे १२ बजे नेपाल आइपुगेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ।
टोलीलाई एन्फाका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका थिए। नेपाल र बंगलादेशबीच असोज ११ गते मंगलवार दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुनेछ। अस्ति बिहीवार कम्बोडियासँग मैत्रीपूर्ण खेल खेलेको टोली सिधै नेपाल आएको हो। यो खेलमा बंगलादेशले कम्बोडियालाई १-० ले हराएको थियो।
नेपाल र बंगलादेश झण्डै १ वर्षपछि खेल्न लागेका हुन्। गएको वर्ष माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल र बंगलादेशले १/१ गोलको बराबरी खेलेका थिए। मैत्रीपूर्ण खेलका लागि नेपालले २३ सदस्यीय टोलीको घोषणा गरिसकेको छ।