काठमाडौँ - श्रीलङ्काका प्रमुख विपक्षी नेता तथा आगामी राष्ट्रपतिको निर्वाचनमा अग्रपङ्तिमा रहेका सजिथ प्रेमदासाले अब हुने राष्ट्रपति चुनावप्रति चिन्ता व्यक्त गर्दै वर्तमान संसद्ले बहुमत जनताको प्रतिनिधित्व नगर्ने बताएका छन्। अहिलेको संसद्मा पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षको बहुमत रहेकाले त्यसले तल्लो तहका बहुसङ्ख्यक जनताको विचारलाई प्रतिनिधित्व नगर्ने बताउँदै उनले चिन्ता व्यक्त गरेका हुन्।
राष्ट्रपतिको निर्वाचन प्रक्रियाबारे टिप्पणी गर्दै प्रेमदासले गोटाबाया राजपाक्षको विधानसभामा बहुमत रहेको दुईसय २५ सांसदले करिब दुई करोड २० लाख श्रीलङ्कालीको भाग्यको फैसला गर्ने अहिलेको वास्तविकता सुनाए। देशको आर्थिक सङ्कटबारे चर्चा गर्दै उनले त्यसबाट राष्ट्रलाई उकास्ने योजना आफूसँग रहेको बताए। अतिधनीलाई करमा सहुलियत दिने आर्थिक कदम नचाल्न विगत तीन वर्षदेखि आफूले सरकारलाई जानकारी गराउँदै आएको तर त्यसलाई कहिल्यै कसैले नसुनेकाले अहिलेको विषम परिस्थिति उत्पन्न भएको उनले जनाए।
विपक्षी नेता प्रेमदासले पूरै व्यवस्थालाई सच्च्याउन नयाँ निर्वाचन आवश्यक भएकामा जोड दिए। प्रेमदासले भारत सरकारको प्रशंसा गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी, उनको सरकार र भारतका जनताले आफ्नो देशका जनताका आधारभूत मानवीय आवश्यकताहरू पूरा गर्ने सन्दर्भमा अतुलनीय सहयोगको गरेकामा आभार व्यक्त गरे। यसअघि विपक्षी नेता प्रेमदासाले राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए । राष्ट्रपति राजापाक्षले पदबाट राजीनामा दिएकाले संविधानबमोजिम आगामी बुधबार संसद्ले नयाँ राष्ट्रपति चयन गर्दैछ।
कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि नयाँ राष्ट्रपतिको निर्वाचन निर्धारित समयमा हुने बताएका छन्। खाद्यान्न र इन्धन अभावका कारण टापुराष्ट्र श्रीलङ्का चरम आर्थिक सङ्कटमा फसेको छ।