दमौली - तनहुँ कारागारमा रहेका कैदीबन्दीको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गरिएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँको समन्वयमा कारागारमा रहेका कैदीबन्दीको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको हो।
कारागारमा रहेका दुई सय ६२ मध्ये ५५ जनाको विवरण सङ्कलन गरिएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए। कैदीबन्दीको विवरण सङ्कलनका लागि कारागारभित्रै व्यवस्था मिलाइएको थियो। “कारागारभित्रै कैदीबन्दीको फोटो खिच्ने, विवरण सङ्कलन गर्ने व्यवस्था मिलाएका थियौँ”, उनले भने, “पूरा विवरण भएकामध्ये ५५ जनाको विवरण दर्ता भएको छ।”
जिल्लामा हालसम्म एक लाख ५३ हजार एक सय ६० जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गराएका छन्। विभिन्न स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमा रहेको दर्ता कार्यालयबाट उक्त सङ्ख्यामा विवरण दर्ता भएको छ। स्थानीय तहमा सञ्चालित अभियानबाट मात्र एक लाख १६ हजार छ सय ३४ जनाले विवरण दर्ता गराएका छन्।
राहदानी बनाउनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि विवरण दर्ता गर्नेको सङ्ख्या बढेको प्रशासन कार्यालयले जनाएको छ। राष्ट्रिय परिचयपत्रको विवरण बुझाउन अनलाइन पनि प्रयोग गर्न सकिन्छ। परिचयपत्रका लागि आवेदन बुझाउन अनलाइन प्रक्रिया पूरा गरी प्रशासन कार्यालयमा आफैँ उपस्थित हुनुपर्नेछ। तर अनलाइनबाट फारम भर्न सर्वसाधारणलाई गाह्रो हुँदै आएको छ।
परिचयपत्रका लागि आवेदन फारम भर्दा १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र पाएका नागरिकले नामथर, जन्ममिति, लिङ्ग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नी नाम, बाजेको नाम उल्लेख गर्नुपर्छ। यस्तै फारममा औँठाछाप (१० वटा), आँखाको नानी, तस्वीर, राष्ट्रियता र हस्ताक्षर उपलब्ध गराउनुपर्छ।
सरकारबाट नेपाली नागरिकलाई प्रदान गर्ने सेवा सुविधालाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध गर्नाका साथै सो प्रणालीबाट प्राप्त हुने तथ्याङ्क तथा अभिलेख नीति एवं योजना निर्माणमा प्रयोग हुनेछ। यसले व्यक्तिको राष्ट्रिय पहिचानपत्र र मतदाता परिचयपत्रका रूपमा काम गर्ने सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधार दिनेछ। सामाजिक सुरक्षा कार्डका रूपमा यही कार्ड प्रयोग हुनेछ। यसले सुरक्षा व्यवस्थापनका लागि सहयोगी अभिलेखको काम गर्नेछ।
अन्य सार्वजनिक सेवासँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आबद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायले झन्झटरहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्न सम्भव हुनेछ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्म, मृत्यु, बसाइँसराइ तथा अन्य कारणबाट व्यक्तिगत सूचनामा परिवर्तन भएमा सोहीअनुसारको अभिलेख व्यवस्थापन गर्ने प्रणालीको स्थापना तथा विकास गरेको छ।
राष्ट्रिय परिचयपत्र नम्बर र राष्ट्रिय परिचयपत्रलाई बहुउपयोगी प्रणालीका रूपमा सरकार र सरकारबीच (जिटुजी), सरकार र व्यवसायीबीच (जिटुबी) र सरकार र नागरिकबीच (जिटुसी) सेवा प्रदान गर्न उपयोग हुनेछ।