काठमाडौँ - पुर्व मुख्यसचिव लीलामणी पौडेल चीनको राजदूत बन्ने पक्कापक्की भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पौडेलको पक्षमा अडान नछोडेपछी प्रधानमन्त्री शेरबहादुर देउवा उनलाई राजदूत बनाउन सहमत भएका हुन्।
पौडेललाई यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले चीनबाट फिर्ता बोलाएको थियो। चीनमा हुदा पौडेललाई प्रधानमन्त्री ओलीको विरोधमा गतिविधि गरेको र माओवादी केन्द्रका अध्यक्ष दाहालको पक्षमा लविङ गरेको आरोपमा फिर्ता गरिएको थियो। पौडेलले केही समयअघि मात्र एमसीसी सम्झौताको बारेमा विवादित अभिव्यक्ति दिएपछी आलोचित भएका थिए। उनको सामाजिक संजालमा आलोचना भएपछी पौडेलले सार्वजनिक रुपमा माफी समेत मागेका थिए। उनि पछिल्लो समय माओवादी केन्द्रका राजनीतिक गतिविधिमा समेत सक्रिय छन्।
पौडेलले फागुन १३ गते प्रज्ञा भवनमा आयोजित कार्यक्रममा एमसिसीको पक्षमा वकालत गर्न पैसा बाडिएको छ भन्ने विवादित अभिव्यक्ति दिनुका साथै अर्थमन्त्रालयको सचिव समेत नेपाल सरकारले सरुवा गर्न नसक्ने बताएका थिए।
सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले पौडेलसहित विभिन्न देशमा राजदूत नियुक्त गर्ने सरकारको तयारी छ।