काठमाडौँ - उपन्यासकार पदम विश्वकर्माको कोरोना कहर समेटेर लेखिएको उपन्यास ‘क्वारेन्टाइन’माथि परिचर्चा सम्पन्न भएको छ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार खेमराज पोखरेलले कृतिमाथि बोल्दै उपन्यासमा कोरोनाकालीन समयमा अमेरिकामा बसोवास गर्ने नेपालीहरूको जनजीवन प्रस्तुत गरेको बताएका छन्।
उनले कृतिले समकालीन कथावस्तु पस्केको भए पनि धेरै ठाउँमा विषयवस्तु पुनरावृत्ति भएको उल्लेख गरेका छन्।
साहित्यकार डा. दीनबन्धु शर्माले उपन्यासमा केही भागहरू नभएको भए पनि हुने भन्दै आउँने पुस्तालाई यो उपन्यासले कोरोना कहरको त्रासदी वर्णन गर्नसक्ने बताए।
साहित्यकारहरू श्रीओम श्रेष्ठ रोदन, राजकुमार बानियाँ र ज्ञाननिष्ठ ज्ञवालीले कृति अलि हतारमा आएको र यस्ता महामारीको कथा तत्कालैभन्दा केही वर्ष अझै हेरेर, त्यसको विहङ्गम विश्लेषण गरेर लेखिएको भए राम्रो हुने तर्क गरेका थिए।
कथाकार विश्वराज अधिकारीले सहजीकरण गरेको उक्त कार्यक्रममा डा. विमल शर्मा, आयोजक संस्था मोलुङ फाउण्डेसनका प्रा. भूपप्रसाद धमलाले कृति केन्द्रित अभिव्यक्ति राखेका थिए।