काठमाडौँ - बुकर पुरस्कार विजेता बेलायती लेखक हिलारी म्यान्टेलको निधन भएको छ। 'उल्फ हल' ट्रिलोजीकी लेखक म्यान्टेलको बिहीबार निधन भएको प्रकाशक हार्पर कोलिन्सले जनाएको छ। उनको ७० वर्षको उमेरमा निधन भएको हो।
उनको निधन मस्तिष्कघातबाट भएको उनका लिटररी एजेन्ट बिल ह्यामिल्टनले पुष्टि गरेका छन्। ह्यामिल्टलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले लेखेको छ, 'उहाँ धेरै उत्कृष्ट उपन्यासको तयारीमै हुनुहुन्थ्यो। उहाँको निधन साहित्य जगतका लागि ठूलो क्षति हो।' मृत्युअघि पनि म्यान्टेल एउटा उपन्यास लेखनमा सक्रिय नै रहेको उनले बताएका छन्।
उनी यस शताब्दीको उत्कृष्ट अंग्रेजी लेखकमध्येकी एक थिइन्। उनले 'वुल्फ हल' र यसको सिक्वेल 'ब्रिङ अप द बडिज' का लागि दुई पटक बुकर पुरस्कार प्राप्त गरेकी थिइन्। त्यस्तै त्यसका लागि उनले सन् २०१२ मा कोस्टा बुक अफ द इयरको अवार्डसमेत प्राप्त गरेकी थिइन्। 'वुल्फ हल' ट्रिलोजी अहिलेसम्म ५० लाखभन्दा बढी प्रति बिक्री भइसकेको छ भने विश्वका विभिन्न ४१ भाषामा अनूदित भएको गार्जियनले जनाएको छ।
'एभ्री डे इज मदर्स डे', 'भ्याकेन्ट पोजेसन', 'बियोन्ड ब्ल्याक' उपन्यास र संस्मरण 'गिभिङ अप द घोस्ट' गरी उनका विभिन्न १७ वटा पुस्तक प्रकाशित भएका छन्। उनको पहिलो उपन्यास फ्रान्सेली क्रान्तिमा आधारित उपन्यास 'अ प्लेस अफ ग्रेटर सेफ्टी' थियो।
ऐतिहासिक उपन्यासका रूपमा रहेको यस कृतिलाई सुरुमा प्रकाशकले छाप्न अस्वीकारसमेत गरेको बताइन्छ। उनको छापिएको पहिलो कृति भने सन् १९८५ मा छापिएको 'एभ्री डे इज मदर्स डे' हो, जसले समीक्षकहरूबाट प्रशंसासमेत बटुलेको थियो। सन् २००९ मा 'वुल्फ हल' प्रकाशित भएपछि भने उनको विश्वव्यापी चर्चा भएको थियो।