काठमाडौँ - नेपालको दूरसञ्चार उद्योगमा नयाँ परिवर्तनको चर्चा चलि रहेको छ। चर्चाको विषय हो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत स्वामित्व शेयर खरिद-बिक्रीको नेपालका विभिन्न संचार माध्यमले पछिल्यो समय एनसेलको ८० प्रतिशत शेयर करिब साढे ५ अर्बमा खरिद बिक्री भएको भन्दै समाचार सम्प्रेषण गरिरहदा बेलायतमा दर्ता भएको स्पेक्ट्रलाइट यूके नामक कम्पनीका शेयरधनी नेपाली मूलका सिंगापुरवासी सतीशलाल आचार्यले ५ अर्बमा नभै ५३ अर्ब तिर्ने प्रतिबद्धतासहित शेयर खरिद गरेको बताएका छन्।
एनसेलले जारी गरेको विज्ञप्तिमा नेपाली लगानीकर्ता शतिसलाल आचार्यले प्रतिस्पर्धाको आधारमा ८० प्रतिशत स्वामित्व शेयर ५३ अर्ब ३८ करोड नेपाली रुपैँया बराबरको ४० करोड अमेरिकी डलरमा प्राप्त गरेको खुलासा गरेको छ।
एनसेलले निकालेको विज्ञप्तिमा आचार्यले भनेका छन्, ‘शेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेता मार्फत निर्धारण गरिएको हो। सहमति भएको सम्झौता ढाँचा अनुसार, आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात सन् २०२९ सम्म थप लाभहरू नाफा बाँडफाँडको रूपमा प्राप्त गर्नेछ। यस शेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ, जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीले निश्चित समयावधिभित्र प्राप्त गर्नेछ।’
आचार्यका अनुसार, आजियाटा रेनोल्ड्स होल्डिङ्सले आफ्नो ८० प्रतिशत शेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको र स्पेक्ट्रलाइटले यसलाई पहिलो भइ छानिएको दाबी गरेका छन्।
उनले एनसेलले आजको दिनसम्मको सबै कर दायित्वहरू सम्पूर्ण रूपमा पालना गरेको र हाल भएको कारोबारमा कुनै लाभकर वा अन्य कर तिर्नुपर्ने भए पनि कानुनअनुसार सबै दायित्व पूरा गर्न तयार रहेको जनाएका छन्।
विज्ञप्तिमा उनले भनेको भन्दै उल्लेख गरिएको छ, ‘ ‘यो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुन अनुसार यसको पालना गरिनेछ। यस प्रक्रियामा एनसेल कर कानुनको पालना गर्न प्रतिबद्ध रहेको छ र आफ्ना सम्पूर्ण सरोकारवालाहरुलाई एनसेल एक जिम्मेवार वित्तिय अभ्यास पालना गर्ने कम्पनी भएको सुनिश्चित गराउन चाहन्छौँ।’
कम्पनीले ग्राहकलाई आफूहरुले दिने सेवामा कुनै अवरोध नपुग्ने भन्दै उच्च गुणस्तरको सेवा दिन प्रतिबद्ध रहेको जनाएको छ। साथै उसले नेपाली मुलका लगानीकर्ता आएपछि डिजिटल नेपाल निर्माणको अवधारणालाई सक्रिय रुपमा योगदा पुर्याउने प्रतिबद्धता समेत जनाएको छ।