काठमाडौँ – करिब आठ महिना अघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको सर्जिकल भवन उद्घाटन भएको थियो। उद्घाटन भए पनि त्यहाँबाट नियमित सेवा सुरु भएको थिएन। तर अहिले करिब आठ महिना पछि भने यहाँबाट कोभिडबाहेकको सेवा नियमित सुरु भएको छ। वीर अस्पतालको प्रशासनले दिएको जानकारी अनुसार सीमित जनशक्तिबाटै भए पनि सेवा सुरु गरिएको हो।
सर्जिकल भवनमा सेवा दिन सरकारले आठ सय ३१ जना चिकित्सकलगायतको दरबन्दी स्वीकृत गरेको छ । तर, जनशक्तिको बहाना देखाएर विपन्न बिरामीलाई सेवाबाट वञ्चित गर्न नहुने भनेर कोभिडमा लिएका केही जनशक्तिको उचित व्यवस्थापन गरी सर्जिकल भवनबाट ननकोभिड उपचार सेवा सुरु गरिएको जानकारी प्रशासनले दिएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले गत २७ असारमा सर्जिकल भवनको उद्घाटन गरेका थिए। कोरोना संक्रमित बिरामी राख्ने स्थान अभाव हुँदा वीरको नयाँ सर्जिकल भवनमा राखेर उपचार सुरु गरिएको थियो। तर, अब भने जुन उद्देश्यले भवन बनाइएको हो, त्यही उद्देश्यअनुसार उपचार सेवा दिन थालिएको अधिकारीहरूले बताएका छन् । नयाँ भवनमा सर्जरी सेवालाई तीव्रता दिइने भएको छ ।