काठमाडौं, मंसिर १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले coming मंसिर २३ गते काठमाडौं उपत्यकाभरि ठूलो प्रदर्शन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले उक्त निर्णय सार्वजनिक गरेका हुन्।
प्रवक्ता श्रेष्ठका अनुसार ‘राजा, राजनीतिक दल र जेनरेसन Z (Gen Z) बीच नयाँ राजनीतिक समझदारी बनाउन दबाब सिर्जना गर्ने उद्देश्य’ सहित उपत्यकाव्यापी प्रदर्शनको तयारी गरिएको हो। उनले हालको राजनीतिक अवस्थाबारे राप्रपाको धारणा स्पष्ट रूपमा जनसमुदायसम्म पुर्याउने लक्ष्यसहित देशव्यापी कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको जानकारी दिए।
यसै क्रममा राप्रपाले वर्तमान राजनीतिक परिदृश्यबारे पार्टीको आधिकारिक धारणा अवगत गराउन प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्ने तयारी गरेको छ।
पार्टीका विभिन्न सभा तथा प्रदर्शनहरू व्यवस्थित गर्न र नेतृत्व दिन प्रवक्ता ज्ञानेन्द्र शाही, प्रवक्ता गोपाल दाहाल, सहमहामन्त्री रवीन्द्रप्रताप शाह र सहमहामन्त्री धनबहादुर बुढासहितको आयोजना समिति गठन गरिएको छ।
यसबाहेक, समान विचारधारा भएका दल तथा समूहसँग सहकार्य, एकता र मोर्चा विस्तारका लागि वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, विक्रम पाण्डे र ध्रुबबहादुर प्रधान रहेको वार्ता समितिसमेत गठन गरिएको राप्रपाले जनाएको छ।