एसियाबाट पहिलो पटक ६ टिम विश्वकप फुटबलमा

काठमाडौँ - फिफा विश्वकप फुटबलमा एसिया महादेशबाट पहिलो पटक ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन्। अन्तरमादेशीय प्लेअफमा दक्षिण अमेरिकी टिम पेरुलाई हराउँदै अष्ट्रेलिया यसै वर्षको अन्त्यमा कतारमा हुने विश्वकपमा छनोट भएपछि एसियाली टिमको संख्या कीर्तिमानी बनेको हो।

आयोजकको हैसियतमा कतारले सिधै विश्वकपमा स्थान बनाएको थियो। यस्तै जापान, दक्षिण कोरिया, इरान र साउदी अरेबिया छनोट चरण पार गर्दै छनोट भएका हुन्। ३२ टिमले खेल्ने विश्वकपमा यस पटक एसियाबाट अहिलेसम्मकै धेरै टिमले खेल्ने भएको हो।

यसअघि २०१८ मा रुसमा भएको विश्वकपमा एसियाबाट ५ टिमले प्रतिस्पर्धा गरेका थिए। 

त्यसअघि १९९८ देखि २०१४ सम्म लगातार ५ विश्वकपमा एसियाबाट समान ४ टिमले खेलेका थिए। १९९८ अघि भने एसियाबाट विश्वकपमा २ वटा मात्र कोटा थियो। २४ टिमले विश्वकप खेल्दा एसियाबाट थोरै संख्यामा प्रतिनिधित्व हुन्थ्यो। तर १९९८ मा विश्वकप खेल्ने टिम संख्या बढाएर ३२ बनाएपछि एसियाबाट पनि टिम संख्या बढेको थियो।

यसपटक विश्वकपमा ८ समूहमध्ये ६ समूहमा एसियन टिम समावेश छन्। एसियाबाट छनोट हुने अन्तिम टिम बनेको अष्ट्रेलिया साविक विजेता फ्रान्स रहेको समूह डी मा परेको छ। यस समूहमा डेनमार्क र ट्युनिसिया पनि छन्।

कतारमा २१ नोभेम्बर देखि १८ डिसेम्बरसम्म हुने विश्वकपमा अहिलेसम्म ३१ टिम छनोट भइसकेका छन्। अब अन्तरमहादेशीय प्लेअफ अन्तर्गत कोस्टारिया र न्युजिल्याण्डबीचको विजेता विश्वकपमा छनोट हुनेछ।

कतार विश्वकपमा युरोपबाट सर्वाधिक १३ टिम छनोट हुँदा एसियाबाट ६, अफ्रिकाबाट ५ र दक्षिण अमेरिकाबाट ४ टिम छनोट भएका छन्। यस्तै उत्तर अमेरिकाबाट ३ टिम छनोट भएका छन्। अब प्लेअफमा कोस्टारिका विजेता भएमा उत्तर अमेरिकाबाट ४ टिम हुनेछ। यदी न्युजिल्याण्ड विजयी भए ओसियाना क्षेत्रको प्रतिनिधित्व गर्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×